उत्तरी अफगानिस्तानमा भिडन्त, सात जनाको गयो ज्यान

कुन्दुज, १९ माघ (रासस-सिन्ह्वा) – अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको अलि अबाद जिल्लामा आइतबार भएको गोली हानाहानमा तीन जना प्रहरी सहित सात जनाको ज्यान गएको छ ।

जिल्लाका गभर्नर ‘अमानुदिन कुरैसी’ले ज्यान लिएका व्यक्तिमध्ये चार जना विद्रोही लडाकूहरु रहेको जानकारी दिनुभयो । उहाँले आइतबार स्थानीय समय अनुसार बिहान ३ बजे तालिबान लडाकू समूहले किसाटोपाक क्षेत्रको सुरक्षा जाँच चौकीमा आक्रमण गरेको बताउनुभयो ।


भिडन्तका क्रममा तीन जना प्रहरीको ज्यान गएको  र अरु चार जना सख्त घाइते भएको गभर्नर कुरैसीले बताउनुभयो । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन ।

बाघलानमा सात लडाकूको गयो ज्यान 

उत्तरी बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा तालिबान विरुद्ध सरकारी फौजले गरेको हवाई आक्रमणमा सात जना लडाकूको ज्यान गएको सेनाले जनाएको छ ।

सैनिक विज्ञप्तिमा बाघलान जिल्लाको मघाल गाउँमा शनिबार अबेर राति हवाई कारबाही गरिएको र त्यसमा अरु आठ जना लडाकू घाइते भएको उल्लेख छ ।

प्रकाशित : आइतबार, माघ १९, २०७६०८:५१

उखुको पुरानो भुक्तानीमा किसानकै ढिलासुस्ती