आज बिहान सुनसरीको रामधुनी नगरपालिका–२ मा भएको सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ। चन्द्रगढीबाट काठमाडौँतर्फ जाँदै गरेको ‘बा ५ ख ३१५७’ नम्बरको हायस माइक्रो बस र पोखराबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
माइक्रोबसका चालक धादिङ बैरेनी–३ बस्ने २८ वर्षीय दीपक खड्काको घटनास्थलमै ज्यान गएको छ । त्यस्तै झापा भद्रपुर–८ घर भई हाल काठमाडौँ बस्ने ७५ वर्षीय हेमराज कोइराला र उहाँकी ६५ वर्षीया श्रीमती डोलमायाको घटनास्थलमै ज्यान गएको छ । भक्तपुर निवासी १७ वर्षीया गरिमा गौतम र भद्रपुर निवासी ४५ वर्षीय टङ्कप्रसाद काफ्लेको विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा ज्यान गएको छ ।
झापा धरमपुर–९ का होमबहादुर दर्जीे र झापाकै सावित्रा राई गम्भीर घाइते भएका छन । सवारी दुर्घटनामा सामान्य घाइते भएका १० जनाको उपचार भइरहेको प्रदेश नं १ को प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भीमबहादुर दाहालले जानकारी दिनुभयो ।
दुर्घटनाको कारण तीव्र गति
प्रहरी अनुसारत्यस सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक ‘भीम दाहाल’का अनुसार, दुर्घटनामा परेका दुबै सवारी साधन तीव्र गतिमा थिए । बिहानको हुस्सु लागेको मौसममा तीव्रगति भएका कारण दुर्घटनामा ठूलो मानवीय क्षति भएको हो।’