रहेनन् लोकगायक बद्री पङ्गेनीका पिता, अस्पताल लैजाँदै गर्दा बाटामै निधन !

काठमाडौँ  – लोकगायक बद्री पङ्गेनीलाई पितृशोक परेको छ । उनका पिता बोधराजको ७० वर्षको उमेरमा आज निधन भएको हो ।

काठमाडौँको धापासीबाट उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटामै निधन भएको परिवारले जनाएको छ । उनी दमसम्बन्धी समस्याबाट पीडित थिए ।

उनको पाल्पा, रामपुरमा दाहसंस्कार गरिने भएको छ । उनका दुई छोरा र एक छोरी छन् । स्व बोधराजकी श्रीमतीको यसअघि नै निधन भइसकेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष पङ्गेनीका पिताको निधनप्रति प्रतिष्ठानका अध्यक्ष रमेश बिजीलगायत विभिन्न सङ्घसंस्थाले दुःख व्यक्त गरेका छन् ।

यस्तै नेपाल बार एशोसिएशन तनहुँका पूर्वाध्यक्ष एवं जिल्ला विकास समितिका पूर्वसभापति फणीन्द्रबहादुर पाण्डेको आज निधन भएको छ । केही समयदेखि अस्वस्थ पाण्डेको तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित निवासमा निधन भएको हो ।

पाण्डेको आज नै दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरिएको छ । पाण्डेको निधनप्रति शोक व्यक्त गर्दै दाहसंस्कारमा सहभागी नेकपाका केन्द्रीय सदस्य एकबहादुर रानाले परिवर्तन र निरङ्कुशताविरुद्धको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पाण्डेको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताए ।

नेकपा जिल्ला अध्यक्ष एवं सांसद केदार सिग्देल, सांसद प्रतापकुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यासका प्रमुख न्यौपानेलगायतले सामाजिक क्षेत्रमा योगदान पुर्याएका पाण्डेको निधनले समग्र तनहुँवासीले अभिभावक गुमाएको महसुस गरेको बताए ।

प्रकाशित : सोमबार, माघ २०, २०७६११:०३

शौचालय गएका एकको शौचालयमै ज्यान गयो, छतबाट खसेर बालिकाले ज्यान गुमाइन् !