चलमल गर्न सक्दैनथे १६ वर्षे बालक, बाबुलाई कोरोना संक्रमण भएपछि खान नपाएर गयो ज्यान !

एजेन्सी – कोरोना भाइरस संक्रमणको आशंकामा बाबु र भाइलाई उपचारमा राखिएपछि हेरचाह नपाएका कारण चीनमा एक बालकको ज्यान गएको छ। बाबु र भाइलाई कोरोना भाइरस संक्रमणको आशंकामा डाक्टरहरुको निगरानीमा राखेका बेला एक बालकको ज्यान गएको हो।

अन्तराष्ट्रिय संचार माध्यममा आएका समाचारहरुका अनुसार १६ वर्षीय यन चेङ मंगलबार मृत अवस्थामा फेला परेका हुन्। चेङ मष्तिष्क-पक्षघातबाट (सेरिबल पल्सी) पीडित रहेको बताइएको छ।

घटना चीनको केन्द्रीय प्रान्त हुबेईको हो। कोरोना भाइरस संक्रमणको आशंकामा चेङका पितालाई अस्पताल लागिएको थियो। केहि दिन अगाडी मात्रै उनले आफ्नो छोरा घरमा एक्लै रहेको भन्दै सामाजिक संजालमा पोस्ट गरेका थिए।

तर, स्थानीय प्रशासनले ध्यान नदिएका कारण ती बालकको ज्यान गयो। एक हप्तामा ती बालकलाई मात्रै दुई पटक खाना खुवाइएको पाइएको स्थानीय मिडियाहरुले बताएका छन्।

घटनापश्चात कम्युनिस्ट पार्टीका स्थानिय सचिव र मेयरलाई पदबाट हटाइएको छ। स्थानीय अधिकारीहरूका अनुसार घटना बारे अनुसन्धानको घोषणा गरिसकेका छन्।

चीनमा महामारीको रुप लिएको कोरोना भाइरसको कारण अहिले सम्म ३५० जना भन्दा बढीको ज्यान गैसकेको छ। यस भाइरसबाट हाल सम्म १७ हजार जना भन्दा बढी मानिसहरु संक्रमित भएको तथ्यांक बाहिरिएका छन्।

चीन बाहिर पनि दुई दर्जन भन्दा बढी मुलुकहरुमा यस भाइरसको संक्रमण पुगिसकेको बताइएको छ।

प्रकाशित : मङ्गलबार, माघ २१, २०७६०५:१०

“कोरोना भाइरस बारे अमेरिकाले बढी त्रास फैलायो, अमेरिका असहयोगी देखियो” – चीन