काठमाडौँ – कोरोना भाइरसबाट सबै भन्दा बढी प्रभावित चीनको वुहानमा रहेका नेपालीहरुलाई तत्काल उद्धार गर्न प्रतिनिधिसभा सदस्यहरुले माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकको क्रममा सांसदहरुले चीनको वुहानमा रहेका नेपालीहरुलाई तत्काल उद्धार गर्न माग गरे। जसक्रममा एक सांसदले चीनका कोरोना भाइरस सक्रमित क्षेत्रमा रहेका नेपालीहरुलाई राख्न संसद भवन खाली गर्न समेत सुझाव दिए।
शून्य समयमा बोल्दै सांसद प्रदीप यादवले चीनका कोरोना भाइरस सक्रमित क्षेत्रमा रहेकाहरुलाई राख्ने ठाउँ नभए संसद भवन खाली गराएर राख्न सकिने बताए।
सरकारले ५ दिनदेखि उनीहरुलाई राख्ने ठाउँ नपाइरहेको भन्दै उद्धारमा आलटाल गरिरहेको आरोप लगाए। काठमाडौंमै हायात होटेलको ३०४ रोपनी जग्गा कब्जा गरिएको समेत उल्लेख गर्दै त्यसलाई खाली गरेर चीनमा रहेका नेपालीहरुलाई राख्न सरकारसँग माग गरे। संसद भवन खालि गराई चीनमा रहेका नेपालीहरुलाई ल्याएर राख्न र पाल टाँगेर संसद चलाउन उनको सुझाव छ।
सरकारले चीनमा रहका नेपालीहरुको उद्धारका लागि दुई विमान तयारी अवस्था राखेको बताइरहेता उद्धारमा ढिलाई गरिरहेको प्रति उनले ध्यानकर्षण गराए। “जहाज नेपालबाट चीन कहिले उड्छ?”,प्रश्न गर्दै उनले भने,”सरकारले ५ दिनदेखि नेपालीहरुलाई उद्धार पछि राख्ने ठाउँ खोजिरहेको छ। सरकारले के ठाउँ नपाएकै हो त ? के अब संसद भवननै खालि गर्नुपर्यो त ?”

