“एमसिसी लागू भए नेपालमा अमेरिकी कानुन लाग्छ, एमसिसीबारे सोच्‍न पनि सकिँदैन”

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नकपा)का प्रभावशालि नेता भीम रावलले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) नेपालको संविधान विपरीत रहेको दावी गरेका छन्।

देशभक्त गणतान्त्रिक मोर्चा नेपाल केन्द्रीय समितिले मंगलबार काठमाडौंमा गरेको ‘एमसिसी तथा लिम्पियाधुरा कालापानी लिपुलेकमाथि कब्जा र राष्ट्रिय स्वाधीनताको प्रश्‍न’ सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा बोल्दै रावलले एमसिसी नेपालको संविधान रहेको दावी गरे।

एमसिसीबारे सोच्‍न पनि नसकिने उनले स्पष्ट पारे । नेपालको संविधान भन्दा माथि रहेको सम्झौता लागू भएमा भोलि अमेरिकाले चाहे अनुसारको कानुन बनाएर नेपालमाथि थोपर्ने उनको तर्क छ।

“नेपालमा एमसिसी लागू गर्ने कुरा मात्रै नभएर त्यसबारे सोच्‍नसमेत सकिँदैन। नेपालको संविधान भन्दा माथि रहेको सम्झौता लागू भएमा भोलि अमेरिकाले चाहे अनुसारको कानुन बनाएर नेपालमाथि लगाउँछ।”,उनले भने।

लिखित दस्तावेजमा नै एमसिसी इन्डो प्यासिफिक सैन्य रणनीतिकै अंश भएको उल्लेख गरिएको हुँदा अनेक प्रकारमा तर्क-टिकाटिप्पणी गरिनु बेकार हुने नेता रावलले बताए।

“अमेरिकाकै लिखित दस्तावेजलाई नमानेर आफू खुसी भनाइ व्यक्त गर्नुको अर्थ छैन। एमसिसी सम्झौता नेपालको संविधान विपरीत छ। यदि एमसिसी लागू भएमा भविष्यमा अमेरिकाले बनाउने कानुन नेपालले स्वीकार गर्नुपर्ने बाध्यता आइलाग्छ।”

नेपालमा बन्‍ने योजना बारे भारतसँगको सम्झौता गर्नुपर्ने बाध्यात्मक अवस्थालाई सामान्य मान्न नसकिने पनि नेता रावलले बताए। “दुईतिहाइको सरकारले बनाएको संविधानलाई कुनै एउटा सम्झौताको लागि संशोधन गर्न सकिँदैन। नेपालमा बन्‍ने योजनामा भारतसँगको सम्झौता किन जरुरी पर्‍यो? त्यसैले एमसिसी नेपालको हित विपरीत छ।”,उनले भने।

प्रकाशित : मङ्गलबार, माघ २१, २०७६१०:१०

फुटबलर लागे बाख्रापालनमा !