एजेन्सी – इटालियन सिरी ए क्लब युभेन्टस तथा पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो बुधबारबाट ३५ वर्ष लागेका छन्। सन् १९८५मा पोर्चुगलको फुंकलमा जन्मिएका रोनाल्डो आजबाट ३५ वर्ष लागेका हुन्।
रोनाल्डोको जन्म पोर्चुगलको फञ्चल, म्याडेइराको एक बस्ती सान्तो आन्तोनियोमा भएको थियो। रोनाल्डो मारिया डोलोरेस डस सान्तोस अभेइरो र पिता होजे डिनिस अभेइरोका कान्छा सन्तानको रुपमा जन्मिएका थिए। रोनाल्डोले व्यवसायीक फुटबल करियर स्पोर्टिङ सिपि क्लबबाट शुरु गरेका थिए।
१६ वर्षको उमेरमानै उनि युवा टोलीमा शामिल भएका थिए। उनको ड्रिबलिंगबाट प्रभावित भएको कारण स्पोर्टिङ क्लबका म्यानेजरले उनलाई युवा टोलीमा सामेल गरेका थिए। यस पश्चात उनि अंडर-१६ , अंडर-१७ र अंडर-१८मा एकै साथ खेल्ने पहिलो खेलाडी समेत बन्न सफल भएका थिए। सफलताको शिखर चुम्दै अगाडी बढेका क्रिस्टियानो २००३-०४ को सिजनमा म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका थिए।
म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएपछि रोनाल्डोले कहिले पनि पछाडी फर्केर हेर्न परेन। करिब ६ वर्ष युनाइटेडमा रहेर रोनाल्डो सन् २००९मा स्पेनिस क्लब रियल म्याड्रिड पुगेका थिए। जसक्रममा उनले कयौं रेकर्ड बनाए। रियल छाडेर रोनाल्डो सन् २०१८मा इटालियन सिरी ए क्लब युभेन्टस पुगेका थिए।
रोनाल्डो बारे केहि तथ्यहरु निम्न छन् –
क्रिस्टियानो रोनाल्डोको नामले विश्वभर प्रख्यात रहेका रहेपनि उनको पूरा नाम क्रिस्टियानो रोनाल्डो डस सान्तोस अभेइरो हो। रोनाल्डोका पिता रोनाल्ड रीगन अभिनयका फ्यान थिए जसकारण उनले छोराको नाम क्रिस्टियानो रोनाल्डो राखिदिएका थिए।
रोनाल्डो विश्वकै सबै भन्दा धनी फुटबलर हुन्। विश्वकै महँगा खेलाडीको रुपमा रहेका रोनाल्डोको सम्पति लगभग ४५० मिलियन डलर रहेको बताइन्छ। फुटबलका अलावा रोनाल्डोले विभिन्न ब्राण्डहरुसँग जोडिएर करोडौं कमाउने गरेका छन्।
रोनाल्डो विवाहित की अविवाहित भन्ने विषयमा धेरैको चासो हुन सक्छ। खासमा, रोनाल्डो अविवाहित छन्। हाल रोनाल्डो जर्जिना रोड्रिग्वेजसँग प्रेम सम्बन्धमा छन्।
रोनाल्डोका चार सन्तान छन्। रोनाल्डोका जेठा छोरा क्रिस्टियानो जुनियरको सन् २०१०मा जन्म भएको थियो। त्यसपछि रोनाल्डो एभा र माटेवा जुम्लाहा सन्तानको पिता बनेका थिए। यस्तै सन् २०१७ मा रोनाल्डोकी प्रेमिका जर्जिनाले एलानालाई जन्म दिएकी थिइन्। रोनाल्डोका दुई छोरा र दुई छोरी छन्।
रोनाल्डोले क्लब फुटबलमा ६२३ गोल गरिसकेका छन् भने अन्तर्राष्ट्रिय खेलहरुमा पोर्चुगलको लागि रोनाल्डोले ९९ गोल गरिसकेका छन्। अन्तर्राष्ट्रिय खेलहरुमा सर्वाधिक गोलकर्ताको रेकर्ड इरानका अली देइको नाममा छ। इरानका अली देइले इरानको लागि १०९ गोल गरेका छन्। रोनाल्डोले छिट्टै यो रेकर्डलाई तोड्ने अनुमान गरिएका छन्।