काठमाडौँ – युरोपेली एयरोस्पेस कम्पनी एयरबसले नेपाली व्यवसायी तथा सरकारी अधिकारीहरुलाई ३ लाख ४० हजार युरो घूस दिएको खुल्न आएको छ।
दुई ‘न्याराेबडी’ जहाज एरबस ए ३२० को खरिद-विक्रीका क्रममा एयरबसले नेपाली व्यवसायी तथा सरकारी अधिकारीहरुलाई ३ लाख ४० हजार युरो घूस दिएको स्वीकार गरेको हो।
फ्रान्स र बेलायतका भ्रष्टाचारविरोधी निकायहरुले संयुक्त रुपमा गरेको अनुसन्धानको क्रममा एयरबसले कमिसनको रुपमा लाखौ युरो घुस दिएको खुल्न आएको बताइएको छ।
फ्रेन्च राष्ट्रिय वित्तीय अभियोजकको कार्यालयले अदालतमा पेश गरेको कागजातपत्र अनुसार एयरबसले एक नेपाली व्यवसायीले खडा गरेको तेस्रो पार्टीलाई ३ लाख ४० हजार युरो दिएको देखिएको छ।
उक्त प्रतिवेदनका अनुसार एयरबसको रणनीति र मार्केटिङ विभागले सन् २०१४ र २०१५ मा दुई पटकमा ३ लाख ४० हजार युरो पठाएको देखिएको उल्लेख छ। नेपाली व्यवसायीले खडा गरेको तेसो पार्टी मार्फत नेपाली अधिकारीहरुलाई समेत घुस रकम पठाइएको हुन सक्ने प्रतिवेदनमा दावी गरिएको छ।
एयरबसले रणनीति र मार्केटिङ विभाग मार्फत विभिन्न देशमा विमान बिकाउन कमिसन तथा घूस प्रवाह गर्ने काम गरेको थियो। रणनीति र मार्केटिङ विभागले नेपालमा जहाज बिक्री गर्न सन् २००७ देखि नै एकजना व्यापारीलाई एजेन्ट नियुक्त गरेर ती व्यापारी मार्फत उक्त रकम नेपाली अधिकारीहरुलाई भुक्तानी गरेको बताइन्छ।
‘द काठमाडौँ पोस्ट’मा आएको समाचार अनुसार फ्रान्स र बेलायतका भ्रष्टाचारविरोधी निकायहरुले गरेको अनुसन्धानको क्रममा एरबसले नेपाली अधिकारीहरुलाई घूस दिएको स्वीकार गरिसकेको छ।
अनुसन्धानकर्ताहरुले घूस रकम ३ लाख ४० हजार युरो भन्दा बढी पनि हुन सक्ने अनुमान गरेका छन्। १८ लाख डलर घूसको कुरा आइरहेको भएता पनि त्यसबारे पुष्टि भैसकेको छैन। जहाज खरिदका लागि सम्झौता हुँदा १८ लाख डलर कमिसन दिने कुरा भएको बताइएको छ। यधपी ३ लाख ४० हजार युरो घूस पठाइएको भने तथ्यनै फेला परेको एयरबस विरुद्धको आरोपपत्रमा उल्लेख छ।
जहाज खरिदकाे समयमा नेपाल एयरलाइन्सको महाप्रबन्धक मदन खरेल थिए। कार्यकारी अध्यक्ष समेत बनेका खरेलले केहि सप्ता अगाडी मात्र राजिनामा दिसकेका छन्। खरेल हाल देश बाहिर रहेको बताइन्छ।