करण र सुशन चम्किए, नेपाललाई मध्यम लक्ष्य !

काठमाडौं – तीब्र गतिका बलर करण केसी र स्पिनर सुशन भारीको उत्कृष्ट प्रर्दशनमा ओमानले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा बुधबार घरेलु टोली नेपाललाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टसमा हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९७ रन बनायो ।

मोहम्मद नदीमले ६९ रनको अविजित उत्कृष्ट अर्ध शतकीय इनिङ खेलेपछि ओमानले बलियो प्रतिस्पर्धात्मक योगफल तयार पारेको हो । नदीमले ९६ बलमा ५ चौका र २ छक्का प्रहार गरे । करणले अन्तिम ओभरमा २ छक्का सहित १७ रन खर्चेका थिए । बिलाल खान ८ रनमा अविजित रहे । नेपालले अन्तिम १० ओभरमा ७६ रन खर्चिन पुग्यो ।

नसिम खुशीले तल्लोक्रममा १८ बलमा २ चौका र २ छक्का सहित महत्वपूर्ण २८ रन जोडे । करणले शरद भेषवाकरबाट खुशीलाई क्याच गराएका थिए । खुसी र नदमीले आठौं विकेटका लागि आक्रामक ४२ रनको साझेदारी गरेका थिए । करणले पहिलो ओभरको अन्तिम बलमा ओपनर जतिन्दर सिंहलाई ४ रनमा बोल्ड आउट गरेका थिए ।

करणलेनै सातौं ओभरको चौथो बलमा खावर अलीलाई विनोद भण्डारीबाट ५ रनमा क्याच आउट गराए । १३ औं ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीले अकीबलाई १६ रनमा रन आउट गराएका थिए । अकीबले ३४ बलमा २ चौका प्रहार गरे । १९ औं ओभरको चौथो बलमा स्पिनर सुशन भारीले कप्तान जीशान मकसुदलाई २० रनमा एलबीडब्यू आउट गरे । सुशनको अपिलमा एम्पारले आउट दिएका थिए । उनले ४० बलमा ४ चौका प्रहार गरे ।

एक बलपछि सुशनले विकेटकिपर सुरज कुमारलाई कप्तान ज्ञानेन्द्र मल्लबाट शून्यमा क्याच गराएपछि ओमान ५७-५ को संकट अवस्थामा पुगेको थियो । खराव सुरुवात गरेको ओमानलाई छैटौं विकेटका लागि सन्दीप गौड र मोहम्मद नदीमले ६० रनको साझेदारी गर्दै सुरुवाती दबाब केहि कम गरेका थिए ।

यी दुईबीचको साझेदारी सुशनलेनै गौडलाई विकेटकिपर विनोद भण्डारीबाट ३३ रनमा स्टम्पिङ आउट गराउँदै तोडेका थिए । गौडले ७२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । त्यसअघि ३५ औं ओभरको तेस्रो बलमा ठूला सट खेलेका गौड बाउन्डीमा पारस खड्काले क्याच लिएपनि बाहिर पुग्दा छक्का हुँदै जीवनदान पाएका थिए ।

दीपेन्द्रको ४२ औं ओभरको चौथो बलमा सट खेल्ने क्रममा बादल सिंह रोहित कुमार पौडेलबाट ५ रनमा क्याच हुन पुगे । करणले कामिदुल्लाहलाई १ रनमा आउट गरे । तीब्र गतिका बलर करणले ९ ओभरमा १ मेडन राख्दै ४७ रन खर्चेर ४ विकेट लिए ।

ओडीआईमा डेब्यू खेलमा स्पिनर सुशन भारीले १० ओभरमा १ मेडन राख्दै १४ मात्रै रन ३ विकेट लिए । दीपेन्द्रको नाममा १ विकेट रह्यो । ओडीआई डेब्यू खल खेलेका अभिनाश बोहराले ९ ओभरमा २ मेडन सहित ३८ रन खर्चिए पनि विकेट लिन सकेनन् ।

प्रकाशित : बुधबार, माघ २२, २०७६०७:३०

ओमान विरुद्ध नेपाल : नेपाललाई ठूलो झड्का !