काठमाडौँ – मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी परियोजना) मार्फत सञ्चालन हुने आयोजनाका लागि सरकारले जग्गा अधिग्रहणको सूचना निकालेको छ।
बुधबार जिल्ला प्रशासन कार्यालय नुवाकोटले गोरखापत्रमा बेलकोटगढी नगरपालिका-७ मा ४०० केभी विद्युत प्रशारण लाइनको सबस्टेशन बनाउन जग्गा अधिग्रहणको सूचना प्रकाशित गरेको हो।
एमसीसी सदनबाट पास गराउने बारे छलफल चलिरहेकै बेला जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक सूचना सार्वजनिक गर्दै जग्गा अधिग्रहणको प्रक्रिया अगाडी बढाएको छ।
एमसीसी परियोजना शुरुहुनु अगाडी नै सरकारले जग्गा अधिग्रहणको काम पूरा गरिसक्नुपर्ने हुँदा जग्गा अधिग्रहणको प्रक्रिया अगाडी बढाइएको बताइएको छ।
अर्थमन्त्रालय अन्तरगत मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए-नेपाल) को निर्माणाधीन ४०० केभी विद्युत प्रसारण आयोजना अन्तरगत नुवाकोटस्थित साविकको रातमाटे गाविस-६ र ९ हाल बेलकोटगढी नगरपालिका-७ मा ४०० केभीको सब-स्टेशन निर्माणका लागि २०७६ असोज १५ गते जग्गा प्राप्तिको सूचना जारी गरिएको थियो।
जसअनुसार बेलकोटगढी नगरपालिका-७ मा रहेको करिब ३ सय ८५ रोपनी जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित भएको छ। मुआब्जा निर्धारणको लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मुआब्जा निर्धारण समिति गठन गरिएको पनि सूचना मार्फतनै जानकारी गराइएको छ।