काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गराएहरु माथि सम्पत्ति शुद्धीकरकण विभागले पनि अनुसन्धान गर्ने भएको छ।
सम्पत्ति शुद्धीकरकण विभागले बालुवाटारको ललितानिवासको जग्गा व्यक्तिको नाममा ल्याउने कार्यमा संलग्न उच्च राजनीतिक, प्रशासनिक व्यक्तिहरु माथि अनुसन्धान गर्ने भएको हो।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको अभियोगमा पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। जसको भोलिपल्टै बिहीबारबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको हो।
मुद्दा दायर भएका मध्ये राजनीतिक व्यक्तित्व माथि अनुसन्धान शुरु गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ। विभागले यो प्रकरणमा जोडिएका पूर्वमन्त्री, सचिव र ठूला व्यापारिक घरानामा सम्पत्ति छानबिन शुरु गरेको बताइएको छ।
बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गा हिनामिना गरेको आरोपमा आयोगले मुद्दा दायर गरेका व्यक्तिहरुमा तीन मन्त्री, छ विशिष्ट श्रेणीका पदाधिकारी, कर्मचारीलगायत १७५ व्यक्ति छन्।
ललितानिवासको जग्गा प्रकारणको मात्रै छानबिन गरेर उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको हो। विभागले भने उनीहरूको सबै सम्पत्ति खोजेर स्रोत नखुल्ने सम्पत्ति जफत गर्ने गरी मुद्दा चलाउनेछ।