काठमाडौँ – समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्दा त्रुटी भएको बताएका छन्।
ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको विषयले आफूलाई समेत असहज महसुस भएको भट्टराईले बताएका हुन्।
बिहिबार यस प्रकरण बारे प्रतिक्रिया दिँदा भट्टराईले सामाजिक संजाल ट्वीटरमा मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयमा मन्त्रीलाई दोष देखाएर प्रधानमन्त्रीलाई उन्मुक्ति दिइएको प्रति आफूलाई असहज महसुस भएको बताए।
देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रयत्न स्वागतयोग्य भएपनि यस प्रकरणमा केहि त्रुटि र अपूर्णता रहेको भट्टराईको बुझाई छ।
“देशमा व्याप्त भ्रष्टाचाररूपी क्यान्सरको एउटा अंश ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रयत्न स्वागतयोग्य छ । तर प्रथम दृष्टि या यसमा कतिपय त्रुटि र अपूर्णता देखिन्छ । हाम्रा ऐनकानून र राज्यसंयन्त्र परिणाममुखी भन्दा प्रक्रियामुखी बढी भएकाले यस्तो हुनसक्छ । मन्त्री दोषी तर प्रम निर्दोष देखिदा।।।।।”,उनले लेखेका छन्।
जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिनेचाहिँ फस्ने नहुनेमा भट्टराईको मत छ। दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस भन्ने उनको बुझाई छ।
“मैले पनि असहजता महसूस गरेको छु! सुर–असूर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘नीलकण्ठ’बन्न तयार छु! तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस ! वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिनेचाहिँ फस्ने नहोस्!”,भट्टराईले लेखेका छन्।