‘भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न भन्ने आफ्नो भनाइ प्रधानमन्त्रीले पुष्टि गरे’

काठमाडौँ – राष्ट्रियसभाका सांसदले प्रधानमन्त्रीले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने भनाइ पुष्टि भएको जनाउँदै सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद युटोल तामाङले भने, “प्रधानमन्त्रीले आफूले भ्रष्टाचार गर्दिन र अरूलाई पनि गर्न दिन्न भन्ने भनाइ पुष्टि भएको छ, सरकारले भ्रष्टाचार न्यूनीकरण गरेको छ ।”

सांसद बलरामप्रसाद बाँस्कोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पूर्वउपप्रधानमन्त्रीसहितका व्यक्तिलाई मुद्दा दायर गर्दा सरकारप्रति जनताको सकारात्मक तरङ्ग पैदा भएको जनाउँदै निष्पक्ष छानबिन गर्नुपर्ने माग गरे।

सांसद दीपा गुरुङले गत वर्ष एनसेलको घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारले अहिलेसम्म पनि क्षतिपूर्ति पाउन नसकेको गुनासो गरिन् । सांसद नन्दा चपार्इँले चीनसँगको नाकाबाट ल्याइने तरकारी कोरोना भाइरसका कारण आउन नसक्दा महँगो हुँदै गएकाले नेपालमै उत्पादन बढाउनुपर्नेमा जोड दिइन् ।

सांसद प्रकाश पन्थले भारतीय सेनामा भर्ना भएका नेपालीको मृत्यु पछिको शव नेपाल ल्याउनमा भएको कठिनाइप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद मुक्ताकुमारी यादवले तराईमा आएको बाढीका कारण भएको क्षतिबारे सरकार अहिलेसम्म पनि बेखबर बनेको आरोप लगाइन् ।

प्रकाशित : बिहिबार, माघ २३, २०७६०८:३९

“महाशिवरात्रीमा नियन्त्रण गर्न नसक्ने भए गाँ-जा सधैँका लागि खुल्ला गरियोस्”