काठमाडौँ – १६ वर्षमै बिहे गर्न पाउनु पर्छ भन्दै प्रदर्शन गर्ने दुईजनालाई प्रहरीले बाँकेबाट पक्राउ गरेको छ।
बिहिबार कानुन तोकेभन्दा कम उमेरमै विवाह गर्न पाउनुपर्ने माग गर्दै आन्दोलन गर्ने दुईजनालाई बाँके प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा जानकी गाउँपालिका-६ का रामदेव मिश्र र डुडुवा गाउँपालिका-३ का फूलपति पाल रहेका छन्।
नेपालगन्जको धम्बोझी चोकमा २० वर्ष पूरा भएपछि मात्र विवाह गर्न पाउने कानुनका बर्खिलाप १६ वर्ष पूरा भएपछि विवाह गर्न पाउनुपर्ने भन्दै आन्दोलन गर्ने उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रहरीले बताएअनुसार उनीहरुले नेपालगन्ज, जानकी र डुडुवाका सर्वसाधारणलाई २० वर्ष पूरा भएपछि मात्र विवाह गर्न पाउने कानुनविरुद्ध सडकमा उतारेका थिए।
नेपालमा प्रचलित कानुन अनुसार विवाह गर्न केटा-केटी दुवैको उमेर २० वर्ष हुन पर्ने व्यवस्था छ। मुलुकी अपराध संहिता, २०७४ मा २० वर्ष भन्दा कम उमेरमा विवाह गर्ने र गराउने कार्यलाई विवाह सम्बन्धी कसूर मानिएको छ।
“विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन ।”,भन्ने कानुनी व्यवस्था छ।