काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा जग्गा नकिनेर आफू बचेको बताएका छन्।
प्रम ओलीले बालुवाटारमा जग्गा नकिनी बालकोटको जग्गा किनेर आफू बचेको बताएका हुन्। घडेरी खोज्दै हिडेको समयमा बालुवाटारको जग्गा किनेको भए आफ्नो पनि बालुवाटारको जग्गा हिनामिना गर्नेमा नाम आउँथ्यो भन्दै ओली धन्न किनिएनछ भन्छन्।
“म भाग्यमानी रहेछु, म पनि घडेरी खोज्दैखोज्दै हिडेको थिएँ । धन्न बालुवाटारमा परिनछु । त्यसबेला यो किनबेच भइराखेको रहेछ र म पनि खोज्दै हिडेको थिएँ । जग्गा किन्नेले हेर्ने धनीपूर्जा हो । पास गर्ने गएर मालपोत कार्यालयमा नै हो । धन्न तपाईंहरू पनि कोही पर्नु भएनछ । किन्न त अन्तै किन्नु भएको होला, यहाँ पर्नु भएनछ । यहाँ परेको भए ! बालुवाटारको जग्गा हिनामिना गर्नेमा नाम आउँथ्यो । हेर्ने त तपाईंहरूले पनि धनीपूर्जा हो । धनीपूर्जा हेर्ने हो, मालपोत कार्यालयमा गएर नै किन्ने हो ।”,ओली भन्छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २१ गते मंगलवार सम्पादकहरूसँगको अन्तरक्रियामा बालुवाटार जग्गा प्रकरण बारे गरेको सम्बोधनको सम्पादित अंश निम्न छ –
म भाग्यमानी रहेछु, म पनि घडेरी खोज्दैखोज्दै हिडेको थिएँ । धन्न बालुवाटारमा परिनछु । त्यसबेला यो किनबेच भइराखेको रहेछ र म पनि खोज्दै हिडेको थिएँ । जग्गा किन्नेले हेर्ने धनीपूर्जा हो । पास गर्ने गएर मालपोत कार्यालयमा नै हो । धन्न तपाईंहरू पनि कोही पर्नु भएनछ । किन्न त अन्तै किन्नु भएको होला, यहाँ पर्नु भएनछ । यहाँ परेको भए ! बालुवाटारको जग्गा हिनामिना गर्नेमा नाम आउँथ्यो । हेर्ने त तपाईंहरूले पनि धनीपूर्जा हो । धनीपूर्जा हेर्ने हो, मालपोत कार्यालयमा गएर नै किन्ने हो ।
म धन्न बँचेछु, बालकोट गएर किनेँ । यहाँको जग्गाको प्रकरण आएपछि मैले साथीहरूलाई सोधेँ– होइन कतै बालकोटको पनि यस्तै त अवस्था छैन ? सार्वजनिक जग्गा त परेको छैन भनेर सोधेँ । तर, त्यस्तो रहेनछ र ढुक्क भयो । आफ्नो हिसाबले भन्दा पनि भवितव्यले गर्दा त्यस्तो नपरेको हो । नत्र भने नेपाल त यस्तो भएको छ, व्यक्तिको धनीपूर्जाबाट किन्दा पनि उहिल्यै कसले सरकारीबाट व्यक्तिको जग्गा बनाएको पर्नसक्ने डरसमेत हुन्छ ।
यस्तो अवस्थामा मैले अहिले सार्वजनिक जमिनहरू फिर्ता ल्याउँदैछु । मान्छेले निजी गराएका जमिनहरू फिर्ता ल्याउँदैछु । एउटा कोरियन कम्पनीलाई अपर त्रिशूली थ्री एमा वनले कन्स्ट्रक्सन वर्क र ट्रान्स्मिसनको लागि वनक्षेत्र पनि प्र्रयोग गर्नुपर्ने हुन्छ भनेर जमिन दिएको रहेछ । एक्सेस रोडका लागि वनले जमिन दिएको रहेछ । त्यसरी दिएपछि गुठी खडा गरेर त्यसका नाममा मोही खडा गरेर अहिले त धनीपूर्जा नै बनिसकेछ । अघिल्लो सरकारले नक्कली गुठीलाई जमिन दिइसकेको रहेछ । त्यस निर्णयमा टेकेर रसुवा मालपोत कार्यालयले मोही सदर गरी जमिन उनीहरूलाई दिन ठिक्क परेर बसेको रहेछ ।
अहिले कन्स्ट्रक्सन कार्य गर्ने भनेपछि तिनीहरू मुअब्जा चाहियो भन्न आए । हामीले नभएको जंगलको जमिन लिएको कसरी मुअब्जाको कुरा आयो भन्दा २०७४ पुस ९ गते चुनाव सकिएपछि ११० रोपनी जमिन एउटा गुठी खडा गरी दिएर, मोही खडा गरेर तमासा पो गरिएको रहेछ । त्यो जमिन फिर्ता लिइयो । सर्लाहीमा त्यसैगरी कब्जा गरेको जमिन रहेछ । तिनीहरू सबै फिर्ता लिइयो । यसरी विभिन्न ठाउँमा फिर्ता लिने क्रम चलेको छ । म साथीहरूलाई भन्न चाहन्छु, सार्वजनिक, सरकारी सम्पत्तिको सुरक्षा गर्ने काम भइरहेको छ । त्यसको हिनामिना गर्न र भ्रष्टाचार गर्न नपाऊन् भन्ने कुरामा अहिलेको सरकार सजग छ । त्यसैकारण यो ललिता निवासको जमिन हामीले रोक्का गर्यौं ।
हामीले गर्ने भनेको रोक्का नै हो । रोक्का गरेर छानबिन हुँदैछ र अब छिट्टै नै अदालतमा जान्छ । त्यसकारण साथीहरू यसमा ढुक्क हुनुभएहुन्छ कि जसको जे दोष छ, जसको त्रुटि छ, यसमा विनादबाब नै कारवाही हुन्छ । सरकारले यसो गर वा उसो गर, फलानोलाई यसो गर वा उसो गर भन्ने कुरा हुँदैन । हामीले कुनै संस्था बनाएका छौं भने तिनीहरूलाई स्वतन्त्ररूपमा काम गर्न दिन्छौं । काम गर्न दिनुपर्छ ।
मैले प्रहरी र सरकारी निकायमा दबाब वा हस्तक्षेपको काम नगर्न निर्देशन गरेको छु । दबाब र हस्तक्षेपमा काम नगर्ने, भ्रष्टाचार र कमिसन हुन नदिने गरेको छु ।