“म अपराधी होइन, म भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे हुँ” – माधव कुमार नेपाल

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफू निर्दोष रहेको बताएका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा नेता नेपालले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी नरहेको बताएका हुन्।

आफू दोषी नभएको र आफूले कुनै नयाँ मोही बनाउनका लागि मोही दिने निर्णय नगरेको दावी गरे। आफू भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे भएको उनको दावी छ।

“म दोषी छैन, म अपराधी होइन । म भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे हुँ । मेरो पालामा कुनै नयाँ मोही बनाउनका लागि मोही दिने निर्णय पनि भएको छैन।”,उनले भने।

अनुचित काममा लागेको जोसुकै भएपनि उम्किन नहुने उनको बुझाई छ। दोषीले उन्मुक्ति पाउन नहुने र र निर्दाेष व्यक्ति फस्न नहुने उनले स्पष्ट पारे।

“अनुचित काममा लागेको जोसुकै किन नहोस्, उम्किन पाउँदैन।”,उनले भने,”ललिता निवास जग्गा प्रकरणमा संलग्न दोषी मान्छे उम्किन हुन्न, निर्दोष पनि पर्न हुन्न ।”

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिता निवास जग्गा प्रकरणमा दोषी रहेको आरोपमा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

तत्कालीन प्रधानमन्त्रीहरुलाई उन्मुक्ति दिएर मन्त्री तथा सरकारी अधिकारीहरु माथि मात्रै मुद्दा चलाइएको भन्दै कांग्रेसले चर्को विरोध गरिरहेको छ। कांग्रेसले यहि प्रकरणको विरोध गर्दै संसद समेत अवरुद्ध पार्दै आएको छ।

प्रकाशित : शुक्रबार, माघ २४, २०७६०७:२१

अस्ट्रेलियामा मुसलधारे पानी: एक तिहाइ आगाे निभेपछि अग्निनियन्त्रकहरुमा खुसिको सिमा रहेन…