एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली स्टार फरवार्ड नेयमारले एक अन्तर्वार्ताका क्रममा मेस्सीको खुलेर प्रशंसा गरेका छन्। फिफालाई दिएको अन्तर्वार्ताको क्रममा नेयमारले खुलेर लियोनेल मेस्सीको प्रशंसा गरेका हुन्।
मेस्सीसँग खेल्न पाउनु आफ्नो लागि उत्कृष्ट अनुभव भएको नेयमारले सुनाए। फुटबललेनै आफूहरुलाई नजिक बनाएको नेयमारको भनाई छ। आफूले देखेका मध्ये मेस्सी उत्कृष्ट खेलाडी रहेको पनि नेयमरले बताए।
“लियोको साथमा खेल्नु गज्जबको अनुभव थियो। खेलकै कारण हामी नजिक भयौं। मैले देखेका खेलाडीहरु मध्ये मेस्सी उत्कृष्ट हुन्। उनी जस्तो अरु कोहि छैन।”,नेयमारले अन्तर्वार्ताका क्रममा भने।
नेयमारले बार्सिलोनामा रहेर मेस्सीसँगै करिब चार वर्ष खेलेका थिए। च्याम्पियन्स लिग, लालिगा र क्लब विश्वकपसम्म जस्ता प्रतियोगिताहरुमा नेयमार-मेस्सीले सँग-सँगै रहेर आठ ट्रफी समेत जितेका थिए।
हाल पेरिस सेन्ट जर्मेन (पीएसजी)मा रहेर फुटबल खेलिरहेका नेयमारले उक्त अन्तर्वार्ताका क्रममा किलियन एम्बाप्पे विश्वकै उत्कृष्ट फुटबलर हुने सम्भावना रहेको पनि बताए। असाधारण भन्दै नेयमारले एम्बाप्पेको प्रशंसा पनि गरे।
“किलियन असाधारण खेलाडी हो। इतिहासको सर्वश्रेष्ठ खेलाडी बन्ने सम्भावना उसमा छ। उसलाई टीम-जोडीका रूपमा पाउनु ठूलो गर्वको कुरा हो। मैदान भित्र र बाहिर हामी एक अर्कालाई राम्ररी बुझ्छौं।”,नेयमारले भने।