अख्तियार प्रमुखलाई गुलाफको फूल दिन नपाइएको प्रति साझाको दुखेसो…[विज्ञप्ति सहित]

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि प्रदर्शन गर्दा पक्राउ परेका आफ्ना १३ नेता कार्यकर्ता तत्काल रिहा गर्न साझा पार्टीले माग गरेको छ।

साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले शुक्रबार दिउँसो एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका आफ्ना १३ नेता कार्यकर्ता तत्काल रिहा गर्न माग गरेका हुन्।

“गिरफ्तारीमा परेका साझा पार्टीका सबै नेता तथा शुभेच्छुकलाई तुरून्त रिहा गर्न साझा पार्टी जोडदार माग गर्दछ।”,आचार्यद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

बालुवाटार जग्गा प्रकरणमा १७५ जना विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गर्नु स्वागतयोग्य भएको भन्दै अख्तियार प्रमुखलाई ‘गुलाफको फूल’ उपहार दिने प्रयास असफल भएको विज्ञप्ति मार्फत आचार्यले जानकारी पनि गराएका छन्।

“आज विहान ११ बजे अख्तियार पुगेका साझा पार्टीका नेता तथा शुभेच्छुकहरूले अख्तियारले बालुवाटार प्रकरणमा १७५ जना विरूद्ध भ्रष्टाचारको मुद्दा दायार गर्नु स्वागतयोग्य भएको भन्दै अख्तियार प्रमुखलाई ‘गुलाफको फूल’ उपहार दिन प्रयास गरेका थिए, जुन सफल हुन सकेन। तर मुद्दा दायर गर्दा कतिपयलाई उन्मुक्ति दिएको विरोधमा उनीहरूले सिठी जुलुसको आयोजना गरेका थिए।”,विज्ञप्तिमा भनिएको छ।

प्रेस विज्ञप्ती:

साझा पार्टीका नेताहरूको गिरफ्तारीबारे

बालुवाटार जग्गा प्रकरणमा पहुँचका आधारमा कयौँलाई उन्मुक्ति दिइएको विरोधमा प्रदर्शन गर्न अख्तियार दुरुपयोग अनुषन्धान आयोग अगाडि शान्तिपूर्णरूपमा भेला भेला भएका साझा पार्टीकी बागमती प्रदेश संयोजक समिक्षा बास्कोटा लगायत एक दर्जनभन्दा बढी नेतालाई प्रहरीले अनाहकमा गिरफ्तार गरेको घटनाको साझा पार्टी घोर भत्सर्ना गर्दछ।

आज विहान ११ बजे अख्तियार पुगेका साझा पार्टीका नेता तथा शुभेच्छुकहरूले अख्तियारले बालुवाटार प्रकरणमा १७५ जना विरूद्ध भ्रष्टाचारको मुद्दा दायार गर्नु स्वागतयोग्य भएको भन्दै अख्तियार प्रमुखलाई ‘गुलाफको फूल’ उपहार दिन प्रयास गरेका थिए, जुन सफल हुन सकेन। तर मुद्दा दायर गर्दा कतिपयलाई उन्मुक्ति दिएको विरोधमा उनीहरूले सिठी जुलुसको आयोजना गरेका थिए।

वर्तमान सरकारले संविधानले सुनिश्चित गरेको नागरिक स्वतन्त्रतालाई कुण्ठित गर्न बारम्बार दुस्साहस गरिरहेको सर्वविदित नै छ।शान्तिपूर्णरूपमा भेला हुन र विरोध गर्न पाउनु संवैधानिक हक हो। साझा पार्टीले सोही अधिकारको उपयोग गरिरहेको थियो। संवैधानिक स्वतन्त्रताको हकलाई बारम्बार कुण्ठित गर्न खोज्दा सरकार बढ्दोरूपमा ‘अनुदार लोकतन्त्र’तर्फ उन्मुख हुँदै गएको हाम्रो आशंकालाई पुष्टी गर्दछ।

गिरफ्तारीमा परेका साझा पार्टीका सबै नेता तथा शुभेच्छुकलाई तुरून्त रिहा गर्न साझा पार्टी जोडदार माग गर्दछ।

डा सूर्यराज आचार्य
प्रवक्ता
साझा पार्टी
मिति: २४ माघ २०७६

प्रकाशित : शुक्रबार, माघ २४, २०७६०९:०६

कोरोना भाइरसबारे सबै भन्दा पहिला चेतावनी दिने चिकित्सककै ज्यान गयो !