काठमाडौं – नेपाली क्रिकेट टोलीका भरपर्दा अनुभवी ब्याट्सम्यान शरद भेषावकरले ओमान र अमेरिकासँग हुने बाँकी त्रिकोणात्मक एक दिवसिय सिरिज गुमाउने भएका छन् ।
ओमानसँगको पहिलो खेलमा ५५ रनको अर्ध शतकीय इनिङ खेल्नेक्रममा शरदको बायाँ हिपको मांशपेशीमा दुखाईको कारण बाँकी खेल गुमाउने भएका हुन् । शरदको स्थानमा ओपनर सुवास खकुरेललाई टोलीमा बोलाईएको छ ।
मध्यक्रमका प्रमुख ब्याट्सम्यान शरद नहुँदा नेपाललाई ठूलो धक्का लाग्ने भएको छ । सुवासको पुनरागमनले नेपालको ब्याटिङक्रम पुन: परिवर्तन हुने अनुमान गरिएको छ । नेपालले शनिबार अमेरिकासँग खेल्दै छ । अभ्यास खेलमा सुवासले अमेरिकाविरुद्ध मुलपानी क्रिकेट मैदानमा ५२ रनको अर्धशतकीय अविजित इनिङ खेलेका थिए ।
सुवासको आगमनले टोलीमा ओपनिङ पुन परिवर्तन हुने सम्भावना बढेको छ । अव ज्ञानेन्द्र र सुवासले ओपनिङ गर्ने उच्च सम्भावना देखिन्छ । पहिलो खेलमा ओमानसँग पारस र ज्ञानेन्द्रले ओपनिङ गरेका थिए । जसमा पारस ३ र ज्ञानेन्द्र १ रनमा आउट हुन पुगेका थिए ।
सुवासले गत वर्ष सेप्टेम्बर ४ मा मलेसियामा भएको एसिया कप क्वालिफायारमा हङकङसँग अन्तिम खेल खेलेका थिए । त्यसयता सुवास टोली बाहिर छन् । सुवास पछिल्लो समय राम्रो लयमा पनि देखिन्छन् । सुनसरीमा भएको एक दिवसिय एमएम कपमा प्रदेश ३ बाट सुवासले प्रदेश १ विरुद्ध ८५ रनको अविजित विजयी इनिङ खेलेका थिए ।