काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले निर्देशन दिएर अख्तियार नचल्ने बताएका छन्।
शुक्रबार गोरखामा पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा नेकपाको सचिवालय सदस्य समेत रहेका श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको निर्देशनमा नचल्ले स्पष्ट पारेका हुन्।
अख्तियार संवैधानिक छुट्टै अंग हो र सरकारले निर्देशन दिएर अख्तियार नचल्ने कुरामा लोकतन्त्रका निम्ति संघर्ष गरेर आएको नेपाली कांग्रेसजस्तो पार्टी स्पष्ट हुनुपर्ने श्रेष्ठले बताए।
“अख्तियारले के निर्णय गर्छ भन्ने कुरा हाम्रो सरकारले बताउने कुरा होइन। लोकतन्त्रका निम्ति संघर्ष गरेर आएको नेपाली कांग्रेसजस्तो पार्टी र पार्टीका मित्रहरू प्रष्ट हुनुपर्छ। अख्तियार संवैधानिक छुट्टै अंग हो।”,श्रेष्ठले भने।
बालुवाटार जग्गा प्रकरणमा अख्तियारले बिनाभेदभाव, बिनापूर्वागहमा यो निष्कर्ष निकालेको होला भन्ने आफूहरुलाई लागेको श्रेष्ठले सुनाए। अख्तियारले बालुवाटार जग्गा प्रकरणमा लगाएको भ्रष्टाचारविरुद्धको मुद्दामा सरकारको कुनै संलग्नता नरहेको उनले स्पष्ट पारे।
“हामी अख्तियारले बिनाभेदभाव, बिनापूर्वागहमा यो निष्कर्ष निकालेको होला भन्ने हामीलाई लागेको छ। सरकारले सम्पूर्ण संवैधानिक निकायलाई कुनै प्रकारको हस्तक्षपमा पर्न दिँदैन। त्यसकारण कांग्रेसले यो कुरालाई बुझेर अख्तियारलाई अझै बढी अनुसन्धानमूलक कसरी बनाउने भन्ने कुरालाई जोड दिँदै यस घटनामा पनि थप केही निष्कर्ष निकाल्नु छ भने निकालोस भन्ने कुरा हामी चाहान्छौँ।”,उनले भने।
श्रेष्ठ शुक्रबार गोरखा पुगेका हुन्। राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि श्रेष्ठ गोरखा पुगेको यो पहिलोपटक हो।