काठमाडौँ – समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले देशका ठूला भ्रष्टाचारको अनुसन्धान गर्नाका लागि हालको कम्जोर अख्तियारले नसक्ने बताएका छन्।
शुक्रबार ट्वीट गर्दै भट्टराईले मन्त्रीपरिषदबाट भएको निर्णयमा प्रधानमन्त्रीलाई समेत भ्रष्टाचार छानवीनको दायरामा ल्याउनुपर्ने र त्यसको लागि हालको कम्जोर अख्तियारले नसक्ने बताएका हुन्।
तरकारी काट्ने चक्कुले खसी काट्न नसकिने हुँदा खुकुरी नै चाहिने उल्लेख गर्दै भट्टराईले शक्तिशाली अख्तियारको निर्माण गरिनुपर्ने विचार व्यक्त गरेका छन्।
“मन्त्रीपरिषदको निर्णय र प्रमलाई समेत भ्रष्टाचार छानवीनको दायरामा ल्याउनुपर्छ भन्ने जनआवाज विल्कुल सही छ,जुन मैले शुरूदेखि भन्दै आएको छु! तर त्यसनिम्ति अहिलेको जस्तो कमजोर अख्तियारको संरचना र हैसियत पर्याप्त छैन!तरकारी काट्ने चक्कुले खसी काट्न सक्दैन,त्यसलाई खुकुरी नै चाहिन्छ!”,भट्टराईले लेखेका छन्।
निरीह अख्तियारको सट्टा सिधै संसदप्रति उत्तरदायी हुने,उच्च न्यायसेवा र विशिष्ठ सार्वजनिक व्यक्तित्वहरू रहने,छुट्टै संवैधानिक सेवाका जनशक्ति भएको अधिकारसम्पन्न जनलोकपालको व्यवस्था गरिनु पर्ने उनको बुझाई छ।
“त्यसनिम्ति निरीह अख्तियारको सट्टा सिधै संसदप्रति उत्तरदायी हुने,उच्च न्यायसेवा र विशिष्ठ सार्वजनिक व्यक्तित्वहरू रहने,छुट्टै संवैधानिक सेवाका जनशक्ति भएको अधिकारसम्पन्न जनलोकपाल(Ombudsman)को व्यवस्था गरौं!नत्र भ्रष्टाचारको मुद्दा सत्ताधारी दलले विपक्षी तर्साउने खेल मात्र हुनेछ!”,भट्टराईले लेखेका छन्।
यस्तै भट्टराईले भ्रष्टाचार जस्तो घातक समाजिक क्यान्सरको विषयमा देशका प्रमुख राजनीतिक शक्तिहरू पक्षविपक्षमा बाँडिनु राम्रो नभएको पनि बताएका छन्।
व्यक्ति विशेष भन्दा पनि प्रणाली र प्रकृयाबारे वहस गरेर समाधान खोजिनुपर्ने उनको बुझाई छ। “भ्रष्टाचार जस्तो घातक समाजिक क्यान्सरको विषयमा देशका प्रमुख राजनीतिक शक्तिहरू पक्षविपक्षमा बाँडिनु राम्रो भएन! व्यक्ति विशेष भन्दा पनि प्रणाली र प्रकृयाबारे वहस गरौं र समाधान खोजौं! मेरो क्यान्सर लुकाउँछु, तेरो क्यान्सरवारे मात्र खुच्चिंग गर्छु भन्नु मूर्खता हो!सबैको उपचार खोजौं!”,भट्टराईको ट्वीट छ।