काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई पास गरिनुपर्ने पक्षमा आफू रहेको बताएका छन्।
कान्तिपुर कन्क्लेभ अन्तर्गत “प्रचण्डसँग परिसम्वाद” कार्यक्रममा बोल्दै प्रचण्डले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई पास गरिनुपर्ने बताएका हुन्।
यधपी एमसीसीमा रहेका अस्पष्ट विषयलाई भने प्रष्ट पारिनुपर्नेमा प्रचण्डको जोड छ। अमेरिकाको तर्फबाट अस्पष्ट विषयलाई प्रष्ट बनाइनुपर्नेमा उनले जोड दिए।
एमसीसी सम्झौताका केहि विषयहरु अस्पष्ट रहेको उल्लेख गर्दै भारतसँग सहमति लिनुपर्छ भनिएको प्रति प्रश्न समेत गरे। “भारतको पनि सहमति लिनुपर्छ भनिएको रहेछ । त्यो भनेको के हो ?”,प्रचण्डको प्रश्न थियो।
देश सम्वृद्धिको यात्रामा रहेको हुँदा अमेरिकाबाट प्राप्त हुने अर्बौँ रकम नेपालको लागि अवसर हुने उनको बुझाई छ। अमेरिकाको तर्फबाट प्रष्ट गर्नुपर्ने केही विषय भए त्यसतर्फ ध्यान दिएर प्रष्ट पारी एमसीसीलाई पारित गर्ने पक्षमा रहेको प्रचण्डले सुनाए।