इलामको ऐतिहासिक चिया कारखाना जीर्ण बन्दै

इलामको माई नगरपालिकामा रहेको पुरानो चिया कारखाना जीर्ण बन्दै गएको छ । इलामको दक्षिणी क्षेत्र माई नगरपालिकाको सोक्तिम चिया बगानमा रहेको कारखाना जीर्ण बन्दै गएको हो । सोक्तिममा विसं १९२२ मा चिया रोप्न शुरु गरिएको थियो । विसं १९४० मा चिया प्रशोधन उद्योग स्थापना गरेर हरियोपत्ती प्रशोधन शुरु गरिएको सो कारखाना अहिले खण्डहर बनेको छ ।

नेपाली चियाको इतिहाससँग जोडिएको चिया बगान र कारखाना निजीकरण गरिएसँगै खण्डहर बनेको हो । इलामको माई नगरपालिका–९ मा रहेको कारखाना निजीकरणसँगै प्रशोधनको काम अहिले हुन छाडेको छ । तत्कालीन बडाहाकिम गजराजसिंह थापाले विसं १९२२ मा सोक्तिममा चियाखेती शुरु गर्नुभएको थियो ।

इलाम चिया बगानभन्दा दुई वर्षमात्रै पछि खेती गरिएको बगानमा रहेको कारखाना निजीकरणपछि प्रशोधन गर्ने मेसिन अयन्त्रै लगिएसँगै प्रशोधनको काम रोकिएको थियो ।

आधुनिक चिया प्रशोधन गर्ने सदरमुकामको कारखाना देशकै पहिलो कारखाना हो। दोस्रो चिया कारखानाका रुपमा रहेको माई नगरपालिकाको सोक्तिम चिया कारखाना स्याहार नहुँदा जीर्ण बन्दै गएको हो ।

एक सय ३६ वर्ष पुरानो सोक्तिम बगानका चियाको बुट्टाको गुणस्तरीय मुना दिए पनि कारखाना बन्द गर्दा चियाको इतिहास नै सङ्कटमा परेको माई नगरपालिका वडा न ९ का वडाध्यक्ष लीलाकुमार राईले बताएका छन्। उहाँले पहिला नै सम्झौता गरेर निजी क्षेत्रलाई दिएकाले नगरपालिकाले सञ्चालन गर्न कठिनाइ भएको बताएका छन्। इलाम र झापामा रहेका सात वटा सरकारी चिया बगान सरकारले भारतको सङ्घाइ ग्रुपलाई भाडामा दिएको छ ।

प्रकाशित : आइतबार, माघ २६, २०७६०८:२५

पुआ न्यु गिनीमा शक्तिशाली भूकम्पको ठूलै झट्का