काठमाडौँ – पोखरामा एक महिलाको शव फेला परेको छ । पोखरा महानगरपालिका– १३ आर्बामा क्षत विक्षत अवस्थामा एक महिलाको शव फेला परेको हो।
पोखरा महानगरपालिका स्थित आर्बा साझा वस्ती नजिकै रहेको जंगलमा २ टुक्रा पारेर फालिएको एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। महिलाको उमेर अन्दाजी ३५ देखि ४० वर्ष हुन सक्ने प्रहरीको अनुमान छ।
महिलाको शव जंगलमा दाउरा काट्न गएका स्थानीयहरुले देखेको र तुरुन्तै प्रहरीलाई खबर गरेको बताइएको छ। स्थानीयहरुका अनुसार आधा शरीर जमिनमा र आधा शरीर बोरामा राखेर फालिएको अवस्थामा शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार घटनास्थलमा पुगेको प्रहरीले कानुनी प्रक्रिया पूरा गरी अनुसन्धान शुरु गरिएको छ। महिलाको पहिचान खुलिनसकेको प्रहरीको भनाई छ।
घुस लिएको आरोपमा इञ्जिनीयर र वडा सदस्य पक्राउ
तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमबार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इञ्जिनीयर अधिकारी र वडासदस्य अधिकारीलाई रु ७५ हजार घुससहित पक्राउ गरेको हो ।
वडासदस्य अधिकारीमार्फत इञ्जिनीयर अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिस÷कार्यसम्पन्न प्रतिवेदन बनाइदिएको समेत विभिन्न बहानामा घुस माग गरिरहेको भन्ने सूचना एवं कार्यालयमा प्राप्त उजुरीका आधारमा अख्तियारबाट खटिएको टोलीले अधिकारीद्वयलाई नगरपालिकाको कार्यालय परिसरबाटै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रवक्ता मेघनाथ रिजालले जानकारी दिए । पक्राउ परेका निजहरुविरुद्ध अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।