बालुवाटार जग्गा प्रकरण: “पक्षपाति अख्तियार प्रमुख विरुद्ध महाअभियोग लगाइयोस्” [भिडियो सहित]

काठमाडौँ – समाजवादी पार्टीकी नेत्री सरिता गिरिले अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुख विरुद्ध महाअभियोग लगाइनुपर्ने माग गरेकी छन्।

मंगलबार बसेको प्रतिनिधिसभको बैठकमा गिरिले बालुवाटार स्थित ललितानिवास जग्गा प्रकरणलाई लिएर संसद अवरुद्ध पारिएको प्रति प्रश्न गर्दै अख्तियारबाट गलत काम भएको भए प्रमुख विरुद्ध महाअभियोग लगाइनुपर्ने बताएकी हुन्।

ठीकसँग काम गर्न नसक्ने अख्तियार आयुक्त तथा अन्य संवैधानिक अंगका आयुक्तहरु विरुद्ध संसदले महाअभियोग लगाउन सक्ने प्रावधान संविधानमै रहेको अवस्थामा पनि किन महाअभियोग नलगाइएको भनेर उनले प्रश्न गरिन्।

संविधानलेनै संसदलाई महाअभियोगको अधिकार दिएको हुँदा प्रतिपक्षी दलहरु चुप बस्नुले जनता माझ गलत सन्देश जाने उनको बुझाई छ। संवैधानिक निकायबाट गलत काम भएको अवस्थामा चुप बस्नुले प्रतिपक्षी दलहरुको समेत मिलिमतो देखिने उनले बताइन्।

“अझै पनि केहि ढिला भएको छैन। पहिला संसदले नै शुशिला कार्की, लोकमान सिंह कार्की विरुद्ध यहि संसदलेनै महाअभियोग लगाएको थियो। अहिले किन नसकिने?”,उनले भनिन्।

यस्तै गिरिले नेकपा नेता नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले बालुवाटारमा रहेको आफ्ना नामको जग्गा सरकारलाई फिर्ता गरेर आफ्नो अपराध कबुल गरेको बताइन्।

समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले आफ्नै नाम आउँदा समेत निस्पक्ष अनुसन्धानको माग गरिरहेको अवस्थामा अन्य प्रधानमन्त्रीहरुलाई पनि उन्मुक्ति मिल्न नहुने तर्क गरिन्। क्याबिनेटबाट भएको निर्णयमा प्रधानमन्त्री चोखो हुन्न भन्ने कुरा आफूहरुलाई मान्य नहुने उनले स्पष्ट पारिन्।

प्रकाशित : मङ्गलबार, माघ २८, २०७६०८:२९

प्रहरी महानिरीक्षक खनालको आज अनिवार्य अवकाश, को बन्ला नयाँ आइजी ?