भद्रपुर – पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिएका एक युक्रेनी दम्पतीलाई कोराना भाइरस (कोभिड–१९¬) को सङ्क्रमणकोे लक्षण देखापरेपछि भारततर्फ नै फर्काइएको छ ।
आज २ः३० बजे नेपाल प्रवेश गरेका ३४ वर्षीय एन्ड्रिन लार्जेगन र उनकी पत्नी ओलेना क्लिन्कोलाई नाकामा राखिएको हेल्प डेक्समा जाँच गर्दा १०० डिग्रीभन्दा बढी ज्वरो र रुखाखोकीसमेत लागेको पाइएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख शशिकला राईले जानकारी दिइन्।
उनीहरुमा कोरानाको लक्षण देखापरेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा पठाउन खोजिएको थियो । उनीहरुले ओइसोलेशनमा बस्न जान नमानेपछि बाध्य भएर भारत नै फर्काइएको अध्यागमन कार्यालय झापाका प्रमुख जनक कोइरालाले बताए।
“कोरानाका शङ्का लागेमा बिरामीलाई राख्न झापामा आइसोलेशन छैन”, उनले भने , “हामीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा पठाउन खोजेको तर नमानेपछि भारततर्फ फर्कादिऔँ ।” उनका अनुसार उनीहरु भारतको दिल्ली विमानस्थल हुँदै जनवरी १० तारिखमा भारत आएका थिए । भारतका विभिन्न स्थान घुमेर आज नेपाल प्रवेश गरेका हुन् ।