हाम्रो दैनिक जीवनशैलीले हाम्रो स्वास्थ्यमा निकै असर पुर्याइरहेको हुन्छ । मानिसबाट हुने सानो गल्तीले पनि स्वास्थ्यमा ठुलो नकारात्मक असर पुर्याइरहेको हुन्छ । केहि बानीले स्वास्थ्यलाई फाइदा पुर्याउँछन् त केहीले हानी । कस्ता बानीले हानी पुर्याउँछ र कस्ताले पुर्याउदैन भन्ने कुरा छुट्टाउन सिक्नुपछ । हामीले गर्ने विभिन्न कार्यहरुले हाम्रो स्वास्थ्यमा पुर्याई रागेको असरको बारेमा हामीलाई थाहा हुदैन ।
हाम्रो स्वास्थ्यमा असर पुर्याउने विभिन्न खालका बानीहरु यस्ता छन् :
१) हात सफा गर्न ह्याण्ड सेनिटाइजर वा एन्टी ब्याक्टेरियल साबुनको अत्यधिक प्रयोग गर्नु : यस्ता सामग्रीमा हुने ट्राइक्लोसिनले मानिसमा एन्टीबायोटिक्स प्रतिरोधी गुण पैदा गर्न सक्दछ जसका कारण एन्टिबायोटिक औषधिले काम गर्न छाड्छ । त्यसैले हात धुनका लागि सामान्य साबुनपानी नै प्रयोग गर्नुपर्दछ ।
२) स्किन केयर प्रडक्टको अत्यधिक प्रयोग : बारम्बार स्किन केयर प्रडक्ट बदलिरहनाले छालामा नोक्सान पुग्ने र विभिन्न प्रकारका छाला रोग हुने जोखिम हुन्छ ।
३) तुनावाला फ्लाट चप्पल धेरै लगाउनु : सामान्य तुने चप्पल धेरै मात्रामा लगाउनु पनि हानिकारक हुन्छ । यस्तो चप्ललबाट कुर्कुच्चा र पञ्जाबीचको पाइतालाको ठाउँमा खास सपोर्ट प्राप्त हुँदैन जसका कारण मांशपेशी दुख्ने तथा सुन्निने लगायतका समस्या पैदा हुन सक्दछ ।
४) खाना लगत्तै ब्रस गर्नु : भोजनपछि लगत्तै दाँत ब्रस गर्दा दाँतको इनामेल खराब हुन्छ । जसका कारण दाँत सड्ने तथा टुट्ने र बिगि्रने जोखिम हुन्छ ।
५) राति अबेरसम्म जागै रहनु : पर्याप्त मात्रामा नसुत्नु र रातमा अबेरसम्म जागै रहने गर्नाले डिप्रेसन, मोटोपना, तनाव, एसिडिटी, अपच जस्ता समस्या पैदा हुन सक्दछन् ।
६) नङ टोक्नु : अवचेतन रुपमा मुखभित्र औँला छिराएर नङ टोकिरहने बानी धेरैको हुन्छ । यसो गर्दा नङभित्रको फोहोर पदार्थ मुखमा पुग्दछ जसका कारण विभिन्न खाले रोगको संक्रमण हुनसक्दछ । साथै यसले दाँत र नङमा पनि नोक्सान पुर्राउँछ ।
७) धेरै एन्टिबायोटिक तथा पेनकिलर औषधिको प्रयोग : डाक्टरको सल्लाह बिनै धेरै एन्टिबायोटिक तथा पेन किलर औषधिको सेवन गर्नाले शरीरमा प्रतिरोध विकास हुन्छ । जसका कारण भविष्यमा एन्टिबायोटिक औषधिले नै काम नगर्ने हुनसक्छ ।
८) सधै बोतलबन्द तथा मिनिरल वाटर पिउनु : रसायनिक ट्रिटमेन्ट गरी शुद्धिकरण गरिएको तथा रिभर्स अस्मोसिस पद्धतिद्वारा डिमिनिरलाइज्ड गरी बोतलमा बन्द गरिएको पानीमात्र पिउनाले पानीबाट प्राप्त हुनुपर्ने कैयन् लवणहरु शरीरमा प्राप्त हुन सक्दैन । जसका कारण विभिन्न खाले रोग लाग्दछ ।
९) घरको सरसफाइ गर्ने रसायनहरुको धेरै प्रयोग गर्ने : घरको भुइँ, भित्ता, फर्निचर, ट्वाइलेट आदि सफा गर्नका लागि प्रयोग गरिने विभिन्न रसायनहरुमा हुने क्वार्टनरी अमोनियम यौगिक तथा ब्युटक्सिथेनोल रसायनका कारण दम र एलर्जी आदिजस्ता समस्या पैदा हुन सक्दछन् ।
१०) जथाभावी भिटामिन खानु : आवश्यकता नभै वा डाक्टरको सल्लाहबिनै भिटामिनलगायतका सप्लिमेन्टहरुको प्रयोगले पनि कुनै फाइदा गर्दैन । यसले उल्टो स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । सप्लिमेन्टको साटो आफ्नो खानामा प्राकृतिक फलफूल तथा सागसब्जी समावेश गर्नुहोस् ।