कोरोनाले ईपिएल रद्द भए पनि लिभरपुल ‘च्याम्पियन’ बन्ने !

एजेन्सी – विश्वभर फैलिइरहेको महामारी कोरोना भाइरसका कारण विश्व खेलकुद गतिविधि नै प्रभावित बनेको छ । चीनबाट सुरु भएको भाइरसले उग्र रुप लिँदै युरोपमा समेत असर गरेपछि त्यसको रोकथामका लागि हाल लगभग सबै खेलकुद गतिविधि निलम्बन गरिएको छ । यस्तोमा विश्वको चर्चित फुटबल लिग इंग्लिस प्रिमियर लिग हालको लागि कम्तिमा ३ साता पर धकेलिएको छ ।

प्रिमियर लिगको शुक्रबार बसेको आकस्मिक बैठकले कम्तिमा अप्रिल ३ सम्मका लागि लिगलाई स्थगित गर्ने निर्णय भएको थियो । तर क्लब प्रतिनिधिका अनुसार लिग अझै पछि सर्ने लगभग पक्का छ । बैठकमा अधिकांश क्लबले खेलाडी र समर्थकको स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै लिग स्थगन गर्न माग गरेका थिए । त्यसअघि प्रिमियर लिगमा समर्थकबिना नै खेल गर्ने निर्णय रहेको थियो ।

आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा, चेल्सीका खेलाडी क्यालम हड्सन ओडोई तथा लेस्टरका तीन खेलाडीलाई संक्रमण देखिएपछि आकस्मिक बैठकले लिग स्थगित गर्ने निर्णय गरेको थियो । हालसम्म सात क्लबका खेलाडी तथा अफिसियलमा कोरोना संक्रमण देखिएको छ । समर्थकबिना नै लिग खेलाउने निर्णयले निकै आलोचना खेपेको थियो । लिग स्थगित भएसँगै अब लिग समापनका लागि सम्भावनाको खोजी हुन थालेको छ । बैठकमा दुई क्लबले यसपटक सम्पूर्ण लिग रद्द गरेर अर्को सिजन पुन: सुरुवात हुनुपर्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव राख्नेमा लन्डनका दुई क्लब वेस्ट ह्याम र टोटेनहम रहेका थिए ।

बैठकमा नै राखिएको अर्को प्रस्तावमा अधिकांश क्लब सहमत पनि देखिएका छन् । उक्त प्रस्तावअनुसार यसपटक लिगको उपाधि लिभरपुललाई सुम्पने तयारी गरिएको छ । शीर्षस्थानमा २५ अंकले अगाडी रहेको लिभरपुल २ खेलमा जित हात पारे च्याम्पियन बन्नेछ । रेलिगेसनको हकमा भने यस सिजन कुनै रेलिगेसन नगर्ने र दोस्रो श्रेणीका शीर्ष दुई क्लब, लिड्स र वेस्ट ब्रोमलाई पनि माथिल्लो श्रेणीमा उकाल्ने तयारी रहेको छ ।

यसो गर्दा २२ टोली प्रिमियर लिगमा रहनेछन् भने खेल तालिका मिलाउन अर्को सिजन लिग कप प्रतियोगिता सम्भव हुने छैन । लिग समीकरण मिलाउन अर्को सिजन ५ क्लब रेलिगेसनमा पर्नेछन् । च्याम्पियन्स लिगको हकमा भने यस सिजन छनोट भएका टोलीलाई नै निरन्तरता दिइने प्रस्ताव अगाडी सारिएको छ ।

यस सिजन लम्ब्याएर पूरा गर्ने प्रक्रिया सम्भव नहुँदा लिग नै रद्द गर्नुपर्ने अवस्था आएको हो । सिजन लम्ब्याउँदा खेलाडीहरुको अनुबन्धदेखि थुप्रै अन्य तालिका र बजेटमा समस्या आउने हुँदा क्लबहरु नै त्यसको पक्षमा रहेका छैनन् । एफएका अध्यक्ष ग्रेग क्लार्कले व्यक्तिगत रुपमा नै क्लब अध्यक्षहरुलाई सिजन पूरा नहुने सम्भावना रहेको बताएका छन् ।

प्रकाशित : शनिबार, चैत ०१, २०७६०४:४५

जब हालान्डलाई गिज्याउन सिङ्गो पीएसजी उत्रियो…