विद्यासुन्दरको गुनासो – ‘समन्वय अभावले काम गर्न सकिएन’

काठमाडौं : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय अभावका कारण काम गर्न समस्या आउने गरेको बताएका छन्।

प्रमुख शाक्यले आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षक प्रतिवेदनको मस्यौदामाथि महालेखाका प्रतिनिधिसँग शुक्रबार छलफल गर्दै सो धारणा व्यक्त गरेका हुन्। उनले भने, ‘समन्वयको अभावमा सङ्घीय र प्रदेशसभा सदस्य र स्थानीय सरकारले राख्ने बजेट एकै ठाउँमा पर्ने गरेकाले पनि समस्या हुने गरेको छ।’

प्रमुख शाक्यले महानगरपालिकाले काम गर्न खोजे पनि कतिपय अवस्थामा काममा अवरोध हुने गरेको बताए। ‘हामीले हरिभवन रहेको स्थानमा महानगरपालिकाको आफ्नै भवन बनाउन चाहेका थियौं, वसन्तपुरमा दमकल भवन बनाउन चाहेका छौँ। यस्ता धेरै कामका लागि बजेट पनि विनियोजन गरेका थियौँ’, उनले भने, ‘तर, एउटा समूह हामीले काम गर्न थालेपछि उजुरी बोकेर अख्तियार, पुरातत्व र अदालत धाउन थाल्छ। त्यहाँ उजुरी परेपछि काम रोकिन्छ। समस्या यसले पनि भएको छ।’

छलफलमा उपमहालेखा परीक्षक रामप्रसाद डोटेलले खरिद र खर्चलाई स्वच्छ, मितव्ययी र पारदर्शी ढङ्गले गर्न सुझाव दिए। डोटेलले बजेट व्यवस्थापन र राजश्व प्रशासनलाई चुस्त बनाउँदै बजेटको सिद्धान्तभित्र बसेर खरिद प्रक्रियालाई पनि पारदर्शी ढङ्गले अघि बढाउने बित्तिकै धेरै समस्या समाधान भएर जाने बताए।

प्रमुख शाक्यले जनप्रतिनिधिलाई पारिश्रमिक वा सेवा–सुविधा नदिने भन्ने कुरा सान्दर्भिक नभएको गुनासो गरे। ‘श्रमिकले उसको श्रमअनुसारको पारिश्रमिक पाउनुपर्छ भनेर हामी लड्दै आएका व्यक्ति हौँ’, उनले भने, ‘जनप्रतिनिधिले पनि बिहानदेखि बेलुकासम्म जनताको घरदैलोमा पुगेर काम गरिरहेका हुन्छन्। यसरी अहोरात्र खट्ने जनप्रतिनिधिले पारिश्रमिक पाउनुपर्छ।’

प्रकाशित : शनिबार, चैत ०१, २०७६०५:३१

कोरोना सङ्क्रमण नहोस् भन्ने कामना गर्दै ट्हो त्हेँ पूजा