“कोइराला परिवारबाटै कांग्रेस सभापति हुनुपर्छ भन्ने छैन, तर मेरो खुट्टा परालको पनि होइन”

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोइराला परिवारबाटै कांग्रेस सभापति हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्।

शनिबार नेपाल प्रेस युनियनले गोरखामा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा कोइरालाले कोइराला परिवारबाटै कांग्रेस सभापति हुनुपर्छ भन्ने हठ आफ्नो नभएको बताए।

“विरासतको राजनीतिमा म विश्वास गर्दिनँ, कर्ममा विश्वास गर्छु। जसले मेहनत गर्छ, जो कार्यकर्ता माझ पुगेर रिझाउन सक्छ, त्यही सभापति हुन्छ ।”,उनले भने।

विरासतको राजनीतिमा आफूले विश्वास नगर्ने बताएपनि कोइरालाले सभापतिमा उम्मेदवारी दिने संकेत गर्न भने उक्त पत्रकार सम्मेलनमा भ्याए। पत्रकारहरुले तपाईं सभापतिको उमेदवार हो की होइन ? भनेर सोध्दा उनले आफ्नो खुट्टा परालको नभएको बताए। “मेरो खुट्टा परालको होइन भन्ने बुझ्नुस् ।”,भन्दै उनले सभापतिमा उम्मेदवारी दिने संकेत गरे।

पार्टी कार्यकर्ता तथा अन्य नेताहरुको चाहना बुझेर मात्र सभापतिमा उम्मेदवारी दिने उनले स्पष्ट पारे। पार्टीका कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरुको चाहनु भए आफू सभापतिमा उम्मेदवारी दिने उनको स्पष्टोक्ति छ।

यस्तै कोइरालाले पार्टी काँग्रेसभित्र विचार नभई भागबन्डाको लडाइँ रहेको पनि बताएका छन्। विचारका आधारमा गुट नबनेकाले पार्टीमा समस्या सृजना भएको उनले तर्क गरे।

पार्टीभित्र अलोकतान्त्रिक गतिविधि बढिरहेको र पार्टी भागबन्डामै अल्झिरहेको हुँदा सरकारले भ्रष्टाचारमा लिप्त हुने मौका पाएको उनले बताए। कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसक्दा लोकतन्त्र धरापमा पर्ने अवस्था आएको उनले तर्क गरे।

प्रकाशित : शनिबार, चैत ०१, २०७६०७:०९

यातायातमन्त्री नेम्वाङ सामू जनताको रुवावासी -“मन्त्रीज्यू, घरजग्गा सम्पत्ति भन्न पाएनौँ, मुआब्जा पनि पाएनौं”