जलेश्वर – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल महोत्तरीको एक कार्यक्रमको उद्घाटन नगरी फर्छकिएका छन् ।
शनिबार उनले मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको नवनिर्मित दुईतले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।
कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सभा तथा सम्मेलन आयोजना नगर्ने सरकारको नीति रहेको हुँदा मन्त्री पोखरेलले सार्वजानिक कार्यक्रममा भवनको उद्घाटन नगरेको जनाइएको छ ।
सो अवसरमा उनले सरकारले ४१ सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिसकेको र थप नाकामासमेत गर्ने तयारीमा रहेको जानकारी दिए। उनले केही दिनका लागि कुनै पनि सभा, सम्मेलन, भोजभतेर र धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्न आग्रह गरे।
काँकडभिट्टा नाकामा ‘थर्मल ग-न’को अभाव : ज्वरो देखिएकालाई फर्काइदै
कोरोनो सङ्क्रमणको ज्वरो नाप्ने ‘थर्मल ग-न’ पर्याप्त नहुँदा भीड व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । पूर्वीनाका काँकडभिट्टाबाट सो भाइरस भित्रिन नदिन भारतबाट आउने सबै नागरिकलाई पंक्तिबद्धरूपमा ज्वरो नाप्ने व्यवस्था मिलाइएको छ ।
सो सीमाबाट आउने नेपाली तथा भारतीयको ज्वरो नाप्न एउटा मात्र ‘थर्मल ग-न’को मात्र भर पर्नुपरेकाले समस्या भएको हो । दैनिक हजारौँले ओहोरदोहोर गर्ने नाकामा कम्तीमा १० ‘थर्मल ग-न’ प्रयोग गरिए मात्र नाकामा जाँच व्यवस्थित हुने काँकडभिट्टा क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती बताउँछन्।
उनले भूटान, बङ्गलादेश, म्यान्मारजस्ता तेस्रो मुलुकसँग समेत नजिकको दूरी भएको नाका भएको हुँदा काँकडभिट्टामा जाँच प्रक्रियालाई सुव्यवस्थित, भरपर्दो र विश्वसनीय तुल्याउनुपर्ने सुझाव व्यक्त गरेका छन् ।
नाकाको प्रवेशविन्दुमा भारतबाट आउने ५०० भन्दा बढीलाई शुक्रबार ज्वरो नापिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिएका छन् । उनले भीड बढ्दै गएको हुँदा ज्वरो नाप्ने उपकरण ‘थर्मल ग-न’ र जनशक्तिको कमी महसुस भएको बताए । उनका अनुसार शुक्रबार जाँचिएका व्यक्तिमध्ये रोजगारीका लागि नेपाल आउन लागेका छ भारतीय मजदुरलाई ज्वरो देखिएको हुँदा उनीहरुलाई फर्काइएको जानकारी दिए।
मेचीनगर नगरपालिकाले सो भाइरसको सङ्क्रमण रोकथामका लागि काँकडभिट्टा नाकामै सचेतनामूलक कार्यक्रम राखेको थियो । कार्यक्रमका सहभागी अधिकांशले नाका जोखिमका दृष्टिले अति संवेदनशील क्षेत्र भएको हुँदा नाका बन्दको कदम चालेर जोखिम न्यूनीकरणको प्रयास गरिनुपर्ने धारणा राखेका थिए ।
“सयौँ व्यक्तिलाई लाममा उभ्याएर एउटा थर्मल ग-नका भरमा कोरोनाको सङ्क्रमण रोक्न सम्भव हुँदैन”, ज्येष्ठ नागरिक सङ्घका प्रतिनिधि कृष्णप्रसाद उप्रेतीले कार्यक्रममा भने, “नाका बन्द गरेर भएता पनि कोरोना भित्रिन नदिने कडा कदम चालियोस् ।”