काठमाडौँ भित्रिए ९१ ग्यास बुलेट, ग्यास अभाव नहुने !

काठमाडौँ – नेपाल आयल निगमले बजारको माग नुसार नै पर्याप्त ग्यासको आपूर्ति भइरहेकाले ग्यासको कुनै अभाव नहुने जनाएको छ ।

अनावश्यक ग्यास सिलिण्डर खरिद गरी राख्ने प्रवृत्तिले गर्दा बजार असन्तुलन हुन पुगेको निगमको भनाइ छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले अभाव हुन्छ भन्ने त्रासका कारण सर्वसाधारणले ग्यास भरेको सिलिण्डरको मौज्दात राख्न खोज्दा केही समस्या देखिएको बताए ।

उनले ग्यासको आपूर्तिमा कुनै समस्या नभएको र पछिल्ला दिनमा ग्यासका आयात बढाइएको बताए। “हामीले उद्योगीलाई भनेका छौँ, माग अनुसारको ग्यास ल्याउनुहोस्”, उनले भने, “उद्योगीको माग अनुसार ‘पर्चेज डेलिभरी अर्डर’ निगमले दिइरहेको छ ।” पछिल्ला चार दिनमा विराटनगर भन्सारबाट विभिन्न कम्पनीका ६६ बुलेट नेपाल भित्रिएका छन् ।

यस्तै झापाको काँकडभिट्टा भन्सारबाट पनि २२ बुलेट नेपाल छिरेका छन् । यस्तै फागुन २९ र ३० गते वीरगन्ज भन्सारबाट २१० बुलेट ग्यास बोकेर नेपाल आएका निगमले जनाएको छ । दुई दिनमा काठमाडौँ उपत्यकामा बजार रहेका कम्पनीका ९१ बुलेट र उपत्यका बाहिरका विभिन्न कम्पनीको ११९ बुलेट नेपाल आएका छन् ।

नयाँ सिलिण्डर नथुपार्न निगमको आग्रह

अभाव हुने त्रासका कारण उपभोक्ताको तर्फबाट ग्यासको खरिद अधिक भएपछि निगमले नयाँ सिलिण्डर किनेर नथुपार्न सर्वसाधारणमा आग्रह गरेकोे छ । निगमले अनावश्यक सिलिण्डर राख्दा बजार असामान्य हुने, दुर्घटनाको सम्भावना बढ्ने हुँदा आफ्नो दैनिक आवश्यकता परिपूर्तिका लागि मात्र ग्यास गरिद गर्न आग्रह गरेको हो । एलपी ग्यास खरिद गर्दा नयाँ सिलिण्डर खरिद नगरी आफूसँग भएको खाली सिलिण्डर फिर्ता गरी ग्यास खरिद गर्न निगमले उपभोक्तालाई अनुरोध गरेको छ ।

प्रकाशित : शनिबार, चैत ०१, २०७६१४:३१

नेपाली भूमिमा नेपाल–भारत सीमास्तम्भ गाडिएको भन्दै सीमास्तम्भ तोडफोड