एजेन्सी – काेराेना भाइरस (काेभिड- १९)को संक्रमण फैलिने त्रास बढेपछि कतारले सार्वजनिक यातायात तथा आगमन उडानहरू बन्द गर्ने घोषणा गरेको छ। कतारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै आगमन उडानहरू र सार्वजनिक यातायात सेवाहरू बन्द गर्ने निर्णय गरेको हो।
कोरोना भाइरस संकट व्यवस्थापनको लागि सर्वोच्च समितिको बैठकमा कतारी अमीर एच एच शेख तमीम बिन हमद अल थानीले दिएको निर्देशन अनुसार आगमन उडानहरू र सार्वजनिक यातायात सेवाहरू बन्द गर्ने निर्णय भएको बताइएको छ।
दाेहाका लागि कुनै पनि आगमन उडान बुधवार साँझदेखि १४ दिनका लागि बन्द गरिएकाे परराष्ट्र मन्त्रालयका प्रवक्ता लोल्वा अल खटरले जनाएका छन्। उनका अनुसार यो निर्णय दुई हप्ता पछि अवस्था हेरेर पूनरावलोकन गरिनेछ। हवाई कार्गो, ट्रान्जिट उडानहरू र कतारी नागरिकहरूकाे उडान भने यथावत हुने जनाइएको छ।
हवाई कार्गो, ट्रान्जिट उडानहरू र कतारी नागरिकहरूकाे उडान यथावत रहने भएता पनि ती उडानमा आउने व्यक्तिहरुले अनिवार्य क्वारन्टाइनमा बस्नुपर्नेछ। क्वारन्टाइनमा बस्नुपर्ने समय १४ दिन रहने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोल्वा अल खटरले बताएका छन्।
आइतबार भएको निर्णय अनुसार कतारमा दोहा मेट्रो र कारवा बसहरूसहित सार्वजनिक यातायात सञ्चालन आइतबार राति १० बजेदेखि बन्द भैसकेका छन्।
कतारको स्वास्थ्य मन्त्रालयका अनुसार ६४ नयाँ कोरोना संक्रमित फेला परेका छन्। यससँगै कतारमा कोरोना संक्रमितको संख्या ४०० नाघेको छ। संक्रमितहरुलाई आइसोलेसनमा राखेर उपचार भैरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कतारमा कोरोनाको जोखिम बढेपछि त्यहाँको सरकारले झन्डै चार हजार कामदारलाई क्वारन्टाइनमा राखेको छ। जसमध्ये २ हजार नेपाली कामदार रहेको स्थानीय संचार माध्यमहरुले जनाएका छन्।