काठमाडौँ – काठमाडौँ – पोर्चुगलमा रहेका एक नेपाली नागरिकलाई कोरोना भाइरसको संक्रमण भएको खुल्न आएको छ।
पोर्चुगल फारोको ग्रामीण क्षेत्रमा काम गर्दै आएका एक नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको खुल्न आएको हो। पोर्चुगल फारोको ग्रामीण क्षेत्रमा एक नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।
फारो नगरपालिकाका मेयर रोगिरियो बाकलहाउलाई उदृत गर्दै विभिन्न संचार माध्यमहरुले एक नेपाली कामदारलाई कोरोना भाइरसको संक्रमण भएको समाचार सम्प्रेषण गरेका छन्। यधपी संक्रमित व्यक्तिको परिचय भने खुलाएको छैन।
यस्तै ती नेपाली संक्रमितसँगै बसेका र सम्पर्कमा आएका ७४ जना नेपालीलाई समेत क्वारेन्टाइनमा राखिएको छ। नेपालीहरुलाई इन्सिनो ब्यासीको २-३ सान्टो आन्तोनिऊ फारोमा क्वारेन्टाइनमा राखिएको हो। बताइएअनुसार, क्वारेन्टाइनमा राखिएकाहरु एउटै कम्पनीबाट कृषिमा काम गर्दै आएका थिए।
चीन केन्द्रविन्दु रहेर विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणले पछिल्ला देखि दिनहरुमा युरोपमा विकराल रुप लिएको छ। पोर्चुगलमा अहिलेसम्म २४५ जनामा कोरोना संक्रमण देखिसकेको छ। आइतबार मात्रै थप ७६ जनामा कोरोना संक्रमण देखिएको बताइएको छ। सोमबार बिहान सम्म पोर्चुगलमा संक्रमितको संख्या २ सय ४५ पुगेको छ।
आइतबार सार्वजनिक एक तथ्यांक अनुसार हाल सम्म कोरोना भाइरसको संक्रमण १४१ मुलुकमा देखा परिसकेको छ। शुरुवाती रुपमा चीनमा धेरैको ज्यान लिएपनि अहिले कोरोनाको संक्रमण युरोप र अमेरिकामा भयावह बन्दैछ।
आइतबार मात्रै इटालीमा कोरोनाको संक्रमणबाट ३६८ जनाको ज्यान गएको बताएको छ। इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या समेत १ हजार ८०९ पुगेको छ । चीनपछि सबैभन्दा प्रभावित मुलुक अब इटाली भएको छ ।
कोरोनाभाइरसबाट प्रभावित भएका युरोपेली फ्रान्स र स्पेनमा पनि क्याफे, पसल र रेस्टुरेन्टहरु बन्द गरिएका छन् । फ्रान्सले अति जरुरी बाहेकका व्यवसायहरू बन्द गर्न आदेश दिएको छ भने स्पेनले एक कदम अगाडि गएर मानिसहरूलाई स्वास्थ्य सेवा वा खाद्यान्न किन्न बाहेकका अरु काममा घर छोड्न प्रतिबन्ध लगाएको छ ।
जर्मनीमा कोरोना संक्रमित व्यक्तिको संख्या बढेपछि फ्रान्स, अस्ट्रिया, स्विट्जरल्याण्ड, लक्जमबर्ग र डेनमार्कसँगका सीमामा सोमबारदेखि कडाई गरेको छ ।