काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोभिड–१९ को त्रास देखाउँदै ग्यासमा कालो बजारी गरिए हस्तक्षेप गर्ने चेतावनी दिएका छन्।
सोमबार आपूर्तिमन्त्री भट्टले ग्यास उद्योगी र नेपाल आयल निगमका अधिकारीलाई मन्त्रालयमा बोलाएर ग्यास वितरणमा असहयोग गरिए सेना र प्रहरी उतार्ने चेतावनी दिएका हुन्।
कोरोना भाइरस संक्रमणको जोखिमका बेला मौका छोप्ने काम भए सरकार चुप नबस्ने उनले चेतावनी दिए। व्यवसायीको नाफा सरकारले नै निश्चित गरेको हुँदा मौका छोपेर बढी नाफा कमाउने तर्फ नलाग्न उनले सुझाव दिए।
मुलुकलाई अफ्ह्ठेरो परेका बेला नाफा घाटा हेरेर उपभोक्तालाई दुख दिने काम सह्या नहुने उनको चेतवानी थियो। संकटको बेला सरकारलाई असहयोग गरेमा हस्तक्षेपको विकल्प नहुने उनले निर्देशन दिँदै दोहोर्याए।
“मेरो आग्रह छ, अहिले उपभोक्ताको जुनसुकै ग्यासको सिलिण्डर पनि साटी दिनुस्, नाफा घाटा नहेर्नुहोस् राज्यलाई सहयोग गर्नुस्, अन्यथा हस्तक्षेप हुन्छ”,उनले भने,”निगमले ग्यास दिएको छैन वा हाम्रा कर्मचारीले असहयोग गरेको छ भने भन्नुस् होइन भने जनताले ग्यास किन पाएनन् जवाफ दिनुस्”
‘ग्यास नियमितभन्दा बढी आयात’
नेपाल आयल निगम लिमिटेडले खाना पकाउने एलपी ग्यास नियमित भन्दा बढी आयात भइरहेकाले मौज्दात राख्नका लागि नआत्तिन सर्वसाधारणलाई आग्रह गरेको छ ।
विश्वभर फैलिरहेको कारोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणका कारण आयातमा कमी हुने भन्ने भ्रमले आम उपभोक्ताले आवश्यक भन्दा बढी ग्यास मौज्दात राख्न खोज्दा बजारमा ग्यासको कमी देखिन थालेको छ । त्यसैले नियमित भन्दा बढी ग्यास आयात हुँदा पनि बजारमा ग्यास सहज रुपमा नभएको हो ।