नेपालमा पनि घट्यो पेट्रोलियम पदार्थको मूल्य, मध्यरातिबाट नयाँ मूल्य लागू हुने ! [मूल्य सहित]

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सोमबार राति १२ बजे देखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

मूल्य समायोजन गर्न सोमबार बसेको सञ्चालक समिति बैठकले डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धन आन्तरिकतर्फको मूल्य घटाउने निर्णय गरेको निगमले जनाएको छ।

सोमबार भएको निर्णय अनुसार डिजेल,पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घट्नेछ। जससँगै डिजेल र मट्टितेलमा प्रतिलिटर ९५ रुपैयाँँ, पेट्रोल १०६ रुपैयाँ प्रतिलिटर पर्नेछ।

यस्तै हवाई इन्धन आन्तरिकतर्फको मूल्य ४ रुपैयाँ ५० पैसाले घटेको छ। सोमबार मध्यराति देखि लागू हुने नयाँ मूल्य अनुसार हवाई इन्धन आन्तरिकतर्फ ९० रुपैयाँ प्रतिलिटर पर्नेछ।

एलपीजी ग्यास र हवाई इन्धन अन्तराष्ट्रियको मूल्यमा भने कुनै परिवर्तन नभएको निगमले जनाएको छ। विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अन्तराष्ट्रिय बजारमा सस्तो हुँदा गएसँगै निगमले मूल्य घटाउने निर्णय गरेको बताइएको छ।

नियमित रुपमा ग्यास आयात भएको छ : ग्यास बिक्रेता

नेपाल एलपी ग्यास उद्योग सङ्घ तथा ग्यास बिक्रेता महासङ्घले संयुक्त रूपमा बढी मात्रामा ग्यास नथुपार्न आग्रह गरेका छन् ।

सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा तिनले ग्यासको आयात विगतभन्दा पनि हालको अवस्थामा केही बढी नै रहेकाले सम्पूर्ण उपभोक्तामा धैर्य गर्न आग्रह गरेका छन् ।

ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीका अनुसार उपभोक्तालाई आवश्यकभन्दा बढी सञ्चय नगर्न आग्रह गर्दै व्यवसायीलाई नयाँ सिलिन्डर नबेच्नसमेत निर्देशन दिइएको छ ।

ग्यास बिक्रेता महासङ्घका अध्यक्ष महेश्वर श्रेष्ठले बजारमा एक करोड २३ लाख सिलिन्डर रहेको जनाउँदै कोभिड–१९ का कारण हाल दैनिक एक लाख सिलिन्डर खपत भएको बताए।

उनका अनुसार तराईमा भन्दा काठमाडौंँमा धेरै माग भएको छ । सन् २०१८ मा ३३ हजार मेट्रिक टन ग्यास खपत भएकामा सन् २०१९ मा ३८ हजार र सन् २०२० को हालसम्म ४३ हजार मेट्रिक टन खपत भइसकेको छ ।

फागुका कारण एलपी ग्यास आयात एक साता बन्द भएको थियो । फागुसँगै कोभिड –१९ को अनावश्यक हल्लाका कारण केही ढिलाए भए पनि नियमित रूपमा ग्यास आयात भएको हुँदा मौज्दात नराख्न श्रेष्ठले आग्रह गरे।

प्रकाशित : सोमबार, चैत ०३, २०७६१४:१०

ग्यासको तराईमा भन्दा बढी काठमाडौंँमा माग, दिनकै एक लाख सिलिन्डर भन्दा बढी बिक्रि !