काठमाडौंँ – नेपाल एलपी ग्यास उद्योग सङ्घ तथा ग्यास बिक्रेता महासङ्घले संयुक्त रूपमा बढी मात्रामा ग्यास नथुपार्न आग्रह गरेका छन् ।
सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा तिनले ग्यासको आयात विगतभन्दा पनि हालको अवस्थामा केही बढी नै रहेकाले सम्पूर्ण उपभोक्तामा धैर्य गर्न आग्रह गरेका छन् ।
ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीका अनुसार उपभोक्तालाई आवश्यकभन्दा बढी सञ्चय नगर्न आग्रह गर्दै व्यवसायीलाई नयाँ सिलिन्डर नबेच्नसमेत निर्देशन दिइएको छ ।
ग्यास बिक्रेता महासङ्घका अध्यक्ष महेश्वर श्रेष्ठले बजारमा एक करोड २३ लाख सिलिन्डर रहेको जनाउँदै कोभिड–१९ का कारण हाल दैनिक एक लाख सिलिन्डर खपत भएको बताए।
उनका अनुसार तराईमा भन्दा काठमाडौंँमा धेरै माग भएको छ । सन् २०१८ मा ३३ हजार मेट्रिक टन ग्यास खपत भएकामा सन् २०१९ मा ३८ हजार र सन् २०२० को हालसम्म ४३ हजार मेट्रिक टन खपत भइसकेको छ ।
फागुका कारण एलपी ग्यास आयात एक साता बन्द भएको थियो । फागुसँगै कोभिड –१९ को अनावश्यक हल्लाका कारण केही ढिलाए भए पनि नियमित रूपमा ग्यास आयात भएको हुँदा मौज्दात नराख्न श्रेष्ठले आग्रह गरे।