नेपाललाई चीनले भन्यो – ‘कोरोनासँग लड्न के-के चाहिन्छ सबै पठाउँछौँ’

काठमाडौँ – चीनबाट शुरु भएर विश्वव्यापी रुप लिएको कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छ। छिमेकि मुलुक भारत सहित विश्वका १ सय ५० भन्दा बढी मुलुकमा कोरोना देखिएको अवस्था छ।

कोरोना भाइरसको जोखिममा रहेको नेपाललाई छिमेकी चीनले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। कोरोना विरुद्ध लड्न आवश्यक सबै सहयोग उपलब्ध गराउन चीनले प्रतिवद्धता व्यक्त गरेको हो।

चीन सरकारले चिनियाँ दूतावासमार्फत एक पत्र पठाएर नेपाललाई आवश्यक सम्पूर्ण सहयोग गर्न चीन सरकार तयार रहेको र के-कस्तो सहयोग चाहिन्छ भनेर प्रश्न समेत गरेको छ।

परराष्ट्र मन्त्रालयलाई पठाइएको पत्रमा कोरोना संक्रमणले नेपालको अर्थतन्त्र तथा जनजीवनमा प्रभाव पारेको उल्लेख गर्दै चीनले नेपाललाई सबैखाले सहायता दिन तयार रहेको जानकारी गराइएको छ।

पत्रमा चीनबाट नेपालले के-कस्ता सहयोग अपेक्षा गरेको छ भनेर सोधिएको छ। नेपाललाई हामीले मास्क र अन्य मेडिकल सप्लाइजहरु सहितको मेडिकल टिम पठाउन चीन सरकार तयार रहेको पनि पत्रमा उल्लेख गरिएको बताइएको छ।

यस्तै चीनले कोरोना भाइरस संक्रमण अन्त्य भएसँगै नेपाल भ्रमण गर्ने पर्यटक पनि पठाउने चीनले प्रतिवद्धता व्यक्त गरेको छ।

अन्तर्राष्ट्रिय उडानमा भारी कटौती

कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा भारी कटौती भएको छ ।

विश्वव्यापीरूपमा कोरोनाको सङ्क्रमण फैलिएपछि नेपालबाट दुवैतर्फी उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले आफ्नो उडानमा कटौती गरेका हुन् ।

पछिल्ला दिनमा दिनहँुजसो अन्तर्राष्ट्रिय उडानमा कटौती भइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए। उनका अनुसार विमानस्थलमा सामान्य अवस्थामा अन्तर्राष्ट्रियतर्फ दैनिक ४५ देखि ५० उडान हुने गरेकामा आज २९ वटा मात्रै उडान भएका छन् । सोमबार ३० वटा अन्तर्राष्ट्रिय उडान भएको थियो । विमानस्थलबाट दुवैतर्फी उडान र अवतरण गर्दा दैनिक सरदर ९५ देखि ९० अन्तर्राष्ट्रिय उडान हुने गरेको छ ।

कोरोनाको प्रभावले हवाई यात्रु घटेपछि हवाई कम्पनीले पनि उडान क्रमशः कटौती गर्न थालेका हुन् । यात्रु कम भएपछि वायु सेवा प्रदायकले धमाधम उडान कटौती गर्न थालेको महाप्रबन्धक केसीको भनाइ छ । उनले भने, “दुई दिनयता अन्तर्राष्ट्रिय उडानमा भारी कटौती भएको छ । अझै केही दिन यही प्रक्रिया जारी रहने अवस्था छ ।”

प्रकाशित : मङ्गलबार, चैत ०४, २०७६११:५२

“टेस्ट नै नगरी संक्रमित छैनन् भन्दै सरकारले ढाँट्याे, टेस्ट गर्ने किट पनि भिआइपीका लागि लुकाइयो”