कोरोना त्रास: युरोप र खाडीका यी देश माथि नेपालमा प्रतिबन्ध !

काठमाडौँ – सरकारले युरोप र खाडी क्षेत्रसहितका विभिन्न मुलुकबाट नेपाल आउन प्रतिबन्ध लगाउने भएको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको उच्चस्तरीय समितिको बैठकले युरोप र खाडी क्षेत्रसहितका विभिन्न मुलुकबाट नेपाल आउन प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

बुधबार भएको निर्णय अनुसार युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका इरान, टर्की, मलेसिया तथा दक्षिण कोरिया र जापान कुनै पनि मुलुकबाट नेपाल आउने पाइनेछैन। प्रतिबन्ध लगाइएका देशहरुबाट बैशाख ३ गतेसम्म नेपाल आउन नपाइने निर्णय भएको छ।

बैठकले गरेको निर्णय अनुसार प्रतिबन्ध लगाइएको मुलुकलाई ट्रान्जिट बनाइ आएका अन्य जुनसुकै मुलुकबाट आउने यात्रुहरुलाई पनि २० मार्च २०२० मध्यरातिदेखि लागु हुने गरी १५ अप्रिल (वैशाख ३ गते) सम्म प्रतिबन्ध लाग्नेछ।

यस्तै सिनेमाहल, साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल लगायतका क्षेत्र बन्द गर्ने निर्णय पनि गरेको छ।

बुधबार भएको निर्णय अनुसार उक्त निर्णय ३० अप्रिल २०२० सम्म लागू हुनेछ। बताइएअनुसार, यस निर्णय लागू भए नभएको गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्नेछ।

पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिस जम्मा हुन नपाउने निर्णय पनि गरेको छ। साँस्कृतिक, सामाजिक तथा व्यवसायिक स्थानहरुमा २५ जना भन्दा बढी जम्मा भए नभएको बारे अनुगमन गर्न पनि गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई नै जिम्मेवारी दिने निर्णय गरेको छ।

बुधबार भएको निणय अनुसार सार्वजनिक सवारी साधनहरुमा सीट क्षमता भन्दा बढी यात्रु नबोक्ने सम्बन्धमा यातायात व्यवसायीलाई अनुरोध पनि गरिनेछ। सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आह्वान पनि गरेको छ।

प्रकाशित : बुधबार, चैत ०५, २०७६११:४३

कोरोना भाइरस: अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या १०० नाघ्यो, सात घण्टामै हजार बिरामी बढे !