काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटघाट बन्द गर्ने भएका छन्। कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै प्रचण्डले आज देखि सम्पूर्ण भेटघाट बन्द गर्ने भएका हुन्।
प्रचण्डले अत्यावश्यक बाहेकका सम्पूर्ण भेटघाट बन्द गरेको प्रचण्डपुत्री गंगा दाहालले जानकारी गराएकी छन। प्रचण्डकी स्वकीय सचिव समेत रहेकी गंगाले फेसबुक मार्फत जानकारी गराएकी हुन्।
“विश्वभर महामारीका रुपमा फैलँदै गएको कोरोना भाईरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पुर्ण भेटघाट (अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ।”,फेसबुकमा उनले लेखेकी छन्।
चीन हुँदै विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका १ सय ५७ मुलुकमा पुगिसकेको छ। बिहिबार बिहान सम्म यस संक्रमणका कारण विश्वभर ८ हजार ८ सय १० जनाले ज्यान गुमासकेका छन्।
बुधबार २ लाख नाघेको संक्रमितको संख्या बिहिबार बिहान सम्म २ लाख १८ हजार नाघेको छ। चीन पछि सबै भन्दा धेरै प्रभावित भएको इटालीमा लगभग ३ हजार जनाको ज्यान गैसकेको छ भने ३५ हजार भन्दा बढी संक्रमित भेटिएका छन्।