एजेन्सी- विश्व स्वास्थ्य संगठनले महामारी रोग घोषणा गरेको कोरोना भाइरस (कोभिड १९) कारण ज्यान गुमाउँनेको संख्या इटालीमा तिब्र रूपमा बढिरहेकाे बेला त्यहाँ यस भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा मात्रै हालसम्मकै बढि मानिसको ज्यान गएको छ । पछिल्लो केही दिनयता इटालीमा हरेक दिन ३ सय भन्दा बढि मानिसले कोरोनाको कारण ज्यान गुमाई रहेका छन् । इटालीको सिभिल प्रोटेक्सन एजेन्सीले जानाए अनुसार पछिल्लो २४ घण्टामा मात्रै ४७५ जनाको ज्यान गएको छ । त्यस्तै, थप चार हजार २ सय ७ जनामा यस भाइरसको संक्रमण देखिएको हो ।
बिहीबार बिहानसम्मको तथ्यांकक अनुसार इटालीमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउँनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ भने संक्रमितको संख्या ३५ हजार ७ सय १३ पुगेको छ । संक्रमितमध्ये ४ हजार २५ जना निको भएका छन् ।
चीनपछि कोरोना भाइरसको कारण सबैभन्द प्रभावित देश इटाली नै हो । इटालीमा कोरोनाको संक्रमणले ज्यान गुमाउनेको संख्या लगभग चीनको जति नै पुग्न थालेको छ । हालसम्म चीनमा ३ हजार १ सय ३० जनाले यस खतरनाक भाइरसको कारण ज्यान गुमाएका छन् । अहिले भने चीनमा कोरोना भाइरसबाट ज्यान जानेको संख्या दैनिक २० भन्दा कम छ । बुधबार चीनमा थप ८ जनाको ज्यान गएको छ भने ३४ जनामा यसको संक्रमण फेला परेको छ । अहिलेसम्म चीनमा ३ हजार २ सय ४५ जनको ज्यान गइसकेको छ ।
त्यस्तै बिहीबारसम्मको तथ्यांकको अनुसार कोरोना भाइरसको संक्रमणबाट इरानमा ११३५ , स्पेनमा ६३८, फ्रान्समा २६४, अमेरिकामा १५५, बेलायतमा १०४, दक्षिण कोरियामा ९१, नेदरल्यान्ड्समा ५८, जापानमा ३२, जर्मनीमा २८, इन्डोनेसियामा १९ र फिलिपिन्समा १७ जनाको ज्यान गएको छ ।