“नारायणकाजीले माओवादी सिध्याए, अब नेकपा सिध्याउँछन्” – बाबुराम

काठमाडौँ – समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समय छँदै एसईई परीक्षा स्थगित नगरी अन्तिम समयमा स्थगित गरिएको प्रति आपत्ति जनाएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक संजाल ट्वीटर मार्फत अन्तिम समयमा एसईई परीक्षा स्थगित गर्नु भन्दा केहि दिन अगाडीनै स्थगित गरिएको भए राम्रो हुने धारणा राखेका छन्।

“उहिलेका श्री ३ ले अहिलेका श्री ३ झैं अघिल्लो दिन हैन, केही दिन पहिल्यै परी़क्षा रोके होलान्‌!, ती कुरो केही दिनअघि गरेको भए विद्यार्थी/अभिभावक कति तनावमुक्त हुन्थे? कति खर्च बच्थ्यो?”,वर्तमान सरकारलाई श्री ३ को संज्ञा दिदै उनले लेखेका छन्।

यस्तै बाबुरामले अन्तिम समयमा एसईई परीक्षा स्थगित गरिएको विषयलाई लिएर पूर्वसहकर्मी समेत रहेका नाराणकाजी श्रेष्ठ माथि कडा कटाक्ष पनि गरेका छन्।

नारायणकाजी श्रेष्ठको गुटले पहिले माओवादी केन्द्र सिध्याएको र अब सत्तारुढ नेकपाको पनि त्यस्तै हालतमा बनाउने भट्टराईको कटाक्ष छ। “यो काजी गुटको काम सधैं शिक्षा वा स्वास्थ्य मन्त्रालय लिने; गुट चलाउने हो ! माके सिध्यायो! अब नेकपा सिध्याउँछ!”,भट्टराईले लेखेका छन्।

शान्तिप्रकृया शुरू भएपछि २०६५ पुसमा मोहनविक्रम सिंह नेतृत्वको तत्कालीन नेकपा मसालबाट तत्कालीन नेकपा माओवादीमा प्रवेश गरेको नारायणकाजी श्रेष्ठको खेमालाई उल्लेख गर्दै भट्टराईले यस्तो कटाक्ष गरेको बुझिएको छ।

वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल पनि तत्कालीन नेकपा मसालबाट तत्कालीन नेकपा माओवादीमा प्रवेश गर्ने मध्ये एक थिए।

प्रकाशित : बिहिबार, चैत ०६, २०७६०५:२५

क्वारेन्टाइनमा राखिएका व्यक्तिले अस्पतालको सातौं तलाबाट हाम्फाले!