कोरोना भाइरस: पर्सि देखि मनकामना केबलकार पनि बन्द !

काठमाडौँ – मनकामना केबलकार चैत मसान्तसम्म बन्द हुने भएको छ। कोरोना भाइरसको जोखिम बढेसँगै मनकामना केबलकार चैत मसान्तसम्म बन्द हुने भएको हो।

चीनबाट शुरु भएर विश्वव्यापी रुप लिसकेको कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राखेर केबलकार सेवा चैत मसान्तसम्मका लागि बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ।

मनकामना दर्शन प्रालिका अनुसार केबलकार सेवा शनिबारदेखि लागू हुने गरी चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ। तत्कालका लागि चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरिएपनि त्यसमा थप हुनेबारे पछि निर्णय हुने बताइएको छ।

कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले कोरोना भाइरस रोकथामका लागि चलचित्रघर, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, शारीरिक व्यायामस्थल, हेल्थ क्लब, सङ्ग्रहालय, स्विमिङपुल, मनोरञ्जनस्थल, डान्सबार तथा क्लबलाई भने आगामी वैशाख १७ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो।

जस अनुरुपनै कम्पनिले चैत मसान्तसम्मका लागि सेवा बन्द गर्ने निर्णय गरेको हो। समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको बैठकले अत्यावश्यक कामबाहेक आवतजावत तथा हिँडडुल नगर्न आग्रह गरिनाका साथै पार्टीप्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, गिर्जाघरजस्ता सांस्कृतिक, सामाजिक र धार्मिकस्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन बन्द गर्ने निर्णय गरेको थियो।

प्रकाशित : बिहिबार, चैत ०६, २०७६०९:०७

२५ जनाभन्दा बढी सहभागी भएको भन्दै राज्य व्यवस्था समिति बैठक स्थगित