कोरोनाको त्रास: भोलिबाट चिडियाखाना पनि बन्द

कोरोनाभाइरसको संक्रमण रोकथामका लागि ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखाना समेत बन्द गर्ने चिडियाखाना प्रशासनले निर्णय गरेको छ। भोलि (शुक्रबार)देखि कार्यान्वयन हुने गरी चिडियाखाना प्रशासनले यो निर्णय लिएको हो। चिडियाखानामा हाल नौ सय प्रकारका जनावर रहेका छन् भने १ सय भन्दा बढी प्रजातिका चरा छन्।

चिडियाखानाकी संरक्षण, शिक्षा तथा सञ्चार अधिकृत लिना चालिसेका अनुसार, शुक्रबारदेखि सबै सर्वसाधारणका लागि चिडियाखाना बन्द गरिएको हो।

उनले भने, ‘यो मुलुकको एक मात्र चिडियाखाना हो। हरेक वर्ष चैत महिनामा चिडियाखाना घुम्नेको संख्या सबैभन्दा बढी हुन्थ्यो। विद्यार्थीहरुको स्कुल बिदा हुने भएका कारण यो महिनामा आगन्तुकको संख्या बढ्ने गर्दथ्यो’।

चिडियाखाना प्रशासनका अनुसार, कोरोना संक्रमणको त्रास बढेसंगै, गत सातादेखि दैनिक एक हजारको हाराहारीमा मात्र आगन्तुक चिडियाखाना घुम्न तथा अवलोकन गर्न आएका छन्। भिडभाडमा कोरोना भाइरसको संक्रमण छिटो हुने कारण, चिडियाखाना बन्द गर्ने निर्णय लिएको हो।

कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले कोरोना भाइरस रोकथामका लागि चलचित्रघर, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, शारीरिक व्यायामस्थल, हेल्थ क्लब, सङ्ग्रहालय, स्विमिङपुल, मनोरञ्जनस्थल, डान्सबार तथा क्लबलाई भने आगामी वैशाख १७ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो।

जस अनुरुप, शुक्रबारदेखि सबै सर्वसाधारणका लागि चिडियाखाना बन्द गर्ने निर्णय लिइएको हो। चिडियाखाना प्रशासनले चैत मसान्तसम्मका लागि सेवा बन्द गर्ने निर्णय गरेको हो।

समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको बैठकले अत्यावश्यक कामबाहेक आवतजावत तथा हिँडडुल नगर्न आग्रह गरिनाका साथै पार्टीप्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, गिर्जाघरजस्ता सांस्कृतिक, सामाजिक र धार्मिकस्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन बन्द गर्ने निर्णय गरेको थियो।

प्रकाशित : बिहिबार, चैत ०६, २०७६१०:४०

भोलि शुक्रबार सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ नहुने !