कोरोना पछि तंग्रिँदै चीन: उद्योगहरु खुले पनि अमेरिकाको चेतावनी बाधक !

बेइजिङ  – कोरोनाभाइरसका कारण एक महिनाभन्दा बढी समयदेखि बन्द रहेका चिनियाँ कलकारखानाहरु पुनः खोल्न चीनले तयारी गरेपनि संयुक्तराज्य अमेरिकाका संक्रामक रोग नियन्त्रण निकायहरुको नयाँ चेतावनीले अन्यौल बढाएको छ । अमेरिकी चेतावनीले खासगरी माइक्रोचिप्स र त्यसका लागि आवश्यक अरु सामानको आपूर्तिमा बाधा पुर्याउन सक्नेछ ।

चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले कोरोनाभाइरसमा विजय हासिल गरेपनि विश्वकै दोस्रो ठूलो चिनियाँ अर्थतन्त्रलाई पुनर्जीवित तुल्याउने प्रयासमा अझै केही दिन ढिलाई हुने खतरा देखिएको छ । पश्चिमा देशहरूले उद्योगहरु बन्द गर्ने, मानिसको यात्रा सीमित गर्ने तथा मानिसलाई घरमै बस्न अनुरोध गरेका कारण विश्वव्यापी व्यापार गतिविधिमा दबाबको स्थिति छ ।

चिनियाँ उत्पादकहरूले एप्पल, सामसुङ र अन्य ब्रान्डका मोबाइल फोनको ८० प्रतिशतभन्दा बढी चीनमै उत्पादन गर्दछन् । चीनमा विश्वमै आधाभन्दा बढी पर्सनल कम्प्युटर, ठूलो संख्यामा घरयासी विद्युतीय र अरु सामान उत्पादन हुने गर्दछ । तर तिनीहरूलाई अमेरिकामा निर्मित प्रोसेसर चिप्स र अन्य उच्च कोटिका सामानहरु आवश्यक पर्दछ ।

यो स्पष्ट छैन, कोरोनाभाइरस नियन्त्रण गर्ने अमेरिकी प्रयासले व्यापारलाई कसरी असर गर्न सक्नेछ । हालसम्म नियन्त्रणका प्रयासहरु मुख्यरुपमा यात्रुहरूमा लागू भएका छन्, सामानमा होइन । अमेरिकी कारखानाहरू सीमित भएपनि सञ्चालनमा छन् । तर नेशनल फेडरेशन अफ इण्डिपेन्डेन्ट बिजनेसका अनुसार सर्भे गरिएका ३०० कम्पनीमध्ये करिब ३९ प्रतिशतले आपूर्ति अवरोध सामना गरिरहेका छन् ।

“अमेरिकामा दैनिक जीवनमा आउने अवरोधले निश्चय पनि चीनको उत्पादन गतिविधिमा अवरोध आउन सक्नेछ,” फिच सोल्युसनका जोखिम विश्लेषक ड्यारेन टेले बताए। बेइजिङले मानिसको आवतजावतमा लगाएका नियन्त्रणहरू खुकुलो बनाएको छ । शहरका सडकहरूमा मानिसको चहलपहल बढेको छ । उद्योगहरुले आपूर्ति सञ्जाल पुनर्निर्माण गर्दैछन् । चिनियाँ उद्योगले विश्वभर अटो पार्ट्स, माइक्रोचिप्स र अन्य सामान आपूर्ति गर्ने ठूलो सञ्जाल बनाएका छन् ।

अधिकारीहरूका अनुसार फलाम निर्माता र राज्यको स्वामित्वमा रहेका अन्य उद्योगहरू सामान्य अवस्थामा नै फर्किसकेका छन् । तर साना, निजी कम्पनीहरूको अवस्था निकै नाजूक छ । यी कम्पनीहरुलाई चीनको आर्थिक इञ्जिनका रुपमा लिइन्छ । यी कम्पनीहरुले कपडा, खेलौना र अन्य उपभोक्ता वस्तुहरू बनाउँछन् । अधिकांश यी कम्पनीहरु सामग्री वा कर्मचारीहरूको अभावका कारण बन्द गरिएका थिए ।

अमेरिकी चेम्बर अफ कमर्शका अनुसार संयुक्तराज्य अमेरिका, युरोप र अन्य एसियाली देशहरूमा सामानमा १५ प्रतिशत अभाव देखिएको छ । चीनपछि संयुक्तराज्य अमेरिकाबाट हुने आपूर्ति शृंखलामा ठूलो प्रभाव परेको छ ।सर्वेक्षण गरिएका २३७ कम्पनीमा आधाभन्दा बढी अमेरिकी थिए र तीन तिहाई अमेरिकी निर्माता कम्पनीहरु थिए ।

“धेरै कम्पनीहरूले नियमित रूपमा जापान, दक्षिण कोरिया, इटाली र संयुक्तराज्य अमेरिकाबाट पठाइरहेका आफ्ना आवश्यक वस्तुहरूको ठूलो सम्झौता गरेका थिए, जुन प्रकोपबाट अहिले दबाबमा छन्” चेम्बरको प्रतिवेदनमा उल्लेख छ । आईडीसीका अनुसार चिनियाँ आपूर्तिकर्तामा आएको समस्याबाट स्मार्टफोनको उत्पादनमा ठूलो असर पर्नेछ । जर्मनी, जापान र दक्षिण कोरियाले पनि माइक्रोप्रोसेसर र अन्य स्मार्टफोन कम्पोनेन्टहरू आपूर्ति गर्दछन्, तर सबैभन्दा उन्नत चिप उत्पादक अमेरिकी हुन् ।

चिनियाँ स्मार्टफोन उत्पादक हुवावेले स्मार्टफोन र नेटवर्क उपकरण निर्माणमा कुनै समस्या नपर्ने जनाएको छ । कार उत्पादनमा पनि अमेरिकी बजार र उद्योगमा आएको समस्याले आपूर्ति शृंखला बिगारेको छ ।

प्रकाशित : बिहिबार, चैत ०६, २०७६१०:५६

“नेपालमा कोरोना फैलिसक्यो, परीक्षण नपुगेर मात्र संक्रमित नदेखिएका हुन्” – डा. दिक्षित