‘कोरोना भाइरसका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने वर्ग मारमा’

काठमाडौँ – सांसद्ले ‘कोभिड–१९’ को त्रासका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने वर्ग मारमा पर्ने बताएका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यन्वयन अनुगमन तथा मूल्याङ्कन समितिको आज बसेको बैठकमा उहाँहरुले संक्रमणको त्रास बढ्दै जाँदा सरकारले विपन्न वर्गका बारेमा ध्यान दिनुपर्ने बताउनुभएको हो ।

समितिका सदस्य पम्फा भुषालले संक्रमणको त्रासका कारण दैनिक काम गरेर गुजारा गर्नुपर्ने वर्ग बढी प्रभावित हुनसक्ने बताउनुभयो । सरकारले शहरी गरिबका विषयमा सोचेर निर्णय गर्नुपर्नेमा उहाँको जोड छ । अहिलेसम्म रोग नभित्रिए पनि नेपालमा आर्थिक र सामाजिक क्षेत्रमा प्रभाव देखिन थालेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारले एसइई परीक्षा स्थगित गरेपछि परीक्षार्थी र उनीहरुको परिवारमा त्यसको प्रत्यक्ष प्रभाव परेको छ ।”

समितिका सदस्य खेमप्रसाद लोहनीले आम नागरिक यो कोरोना भनेको के हो र कसरी लाग्छ भन्ने थाहा नभए पनि रोगका कारण त्रसित भएको बताउनुभयो । संक्रमण पहिले नै सम्भावित समस्याको समााधान खोज्न थाल्नुपर्ने उहाँको सुझाव छ ।

समितिका सदस्य भीम रावलले रोग लाग्नासाथ नदेखिने हुँदा यो रोग चाँडो फैलन सम्भावना रहेको बताउनुभयो । शुरुको अवस्थामा थाहा नहुँदा एक जनाबाट अरुमा चाँडै फैलिएको पाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “त्यसैले अहिले पनि रोग देखिएन भनेर ढुक्क हुनुहुँदैन ।” समितिका सदस्य राधेश्याम अधिकारीले सरकारले विदेशमा रहेका नेपालीलाई घर आउन रोक्न नहुने बताउनुभयो । सरकारले उनीहरुलाई आएपछि केही दिन अनिवार्य अलग बस्नुपर्ने नियम भने लागू गर्नसक्ने उहाँको सुझाव छ ।

समितिका सभापति निरादवी जैरुले अहिले धेरैले रोग आउनसक्छ भनी आवश्यकताभन्दा बढी खाद्यन्न जोहो गरेको बताउनुभयो । “सम्पन्नले रासनलगायतका आवश्यक सामग्री जोहो गरे पनि विपन्नले भने गर्न सकेका छैनन्”, उहाँले भन्नुभयो,“कतिपय पालिकाले नै तीन महिनालाई आवश्यक सामग्री किन्नुहोस् भनेको छ तर उनीहरुको क्षमता नहुन पनि सक्छ ।”

प्रकाशित : बिहिबार, चैत ०६, २०७६१४:२१

वीरगञ्ज कारागारका कैदीबन्दीले पनि उत्पादन गर्न थाले मास्क !