आज मध्यरातदेखि ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध!

काठमाडौं । कोरोनाको सम्भाव्य प्रकोपलाई दृष्टिगत गर्दै सरकारले यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्र लगायत ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ । यो व्यवस्था २०७६ चैत ७ गते मध्यरातदेखि लागू हुनेछ ।

प्रतिबन्धित देशका नागरिक मात्र होइनन्, त्यहाँ रहेका नेपाली, गैरआवासीय नेपालीलाई समेत नेपाल आउन रोकिनेछ । साथै, प्रतिबन्ध लगाइएका देशलाई ट्रान्जिट बनाएर पनि नेपाल आउन पाइनेछैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा कुल ६६ मुलुकका नागरिक र त्यहाँबाट आउने जुनसुकै मुलुकका नागरिकलाई समेत प्रतिबन्ध लागेको छ ।

सरकारले बुधवार गरेको निर्णयअनुसार प्राधिकरणले उडान व्यवस्थापन गर्न एयरलाइन्स कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणका अनुसार यूरोपका ४५ देशबाट नेपाल आउन रोक लगाइएको छ । पश्चिम एशिया र खाडीका १९ देशका साथै जापान र कोरियाबाट पनि आउन पाइने छैन । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीवार बसेको बैठकले आवागमन बन्द गर्नुका साथै कोरोना संक्रमणबाट बच्न विभिन्न निर्णय गरेको छ ।

प्रकाशित : शुक्रबार, चैत ०७, २०७६०३:०१

अति आवश्यक खाद्य सामान घरमै आउने, यस नम्बरमा गर्नुहोस कल!