कोरोनाबाट बँच्न नमस्ते गरौँ, मन बलियो बनाऔँ

सुर्खेत – मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले कोभिड–१९ बाट आतङ्कित नहुन आग्रह गरेका छन् ।

कर्णाली प्रदेश अस्पतालका चिकित्सकसँग शुक्रबार यहाँ भएको छलफलमा उनले कोरोना भाइरसबाट त्यत्ति डराइहाल्नु नपर्ने तर होसियारी बन्न सुझाउ दिए। “ यससँग जुध्न मनोबल बलियो बनाऔँ”, उनले भने, “विश्वभरि लोकप्रिय बन्दै गएको ‘नमस्ते’ नेपाली मौलिक अभिवादनमा जोड दिउँ ।”

कोरोनाबारे सचेतना, रोकथाम, अध्ययन तथा अनुसन्धानका लागि विश्वविद्यालयको महत्वपूर्ण भूमिका हुने उपकुलपति प्राडा सिंहले बताए। विश्वविद्यालयको जनशक्तिलाई नागरिकस्तरमा सचेतना जगाउनका साथै अनुसन्धानमा जोड दिन निर्देशन गरिएको उनले जानकारी दिए।

वरिष्ठ फिजिसियन डा केएन पौडेलले कोरोनाबाट बच्न रुघाखोकी लागेका मान्छेबाट दुई÷तीन मिटर टाढा बस्न सुझाए । “हातमुख राम्रोसँग धुनु, अनावश्यकरूपमा घरबाट बाहिर ननिस्कनु पनि यो रोग लाग्नबाट बच्ने उपाय हो”, उनले भने, “धेरै भीडभाड गर्ने र हात मिलाउने काम पूर्णरुपले बन्द गर्न सके हामी यो रोग सङ्क्रमण हुने समस्याबाट बच्छौँ ।”

काँकडभिट्टा नाकामा स्वास्थ्यकर्मी थप गर्न माग

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सुदूरपूर्वी नाका काँकडभिट्टामा कोभिड–१९को सङ्क्रमणको जोखिम हुन नदिन भइरहेको कामको बिहीबार अनुगमन गरेका छन् ।

उनले जाँच प्रक्रिया, सुरक्षाकर्मी एवं स्वास्थ्यकर्मी परिचालनको निरीक्षण गर्दै कोरोना सङ्क्रमण रोकथामका लागि नाकामा भीडभाड हुन नदिन, स्थानीय खुला हाटबजार बन्द गराउन र अनावश्यक रुपमा भारततर्फ सर्वसाधारणलाई आवतजावत गर्न जान नदिन प्रमुख जिल्ला अधिकारी र प्रहरीका स्थानीय प्रमुखहरुलाई निर्देशन दिए। मन्त्री कार्कीले सो भाइरसको जोखिम र जाँचमा खटिएकाको अवस्थाबारेमा कार्यस्थलमा परिचालित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग सोधपुछ गरेका थिए।

दैनिक नौदेखि १२ हजारसम्म मानिस भारतबाट आउने गरेको काँकडभिट्टा नाकामा न्यून साधन र स्रोतका कारण विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार स्वास्थ्यकर्मी परिचालन, आधुनिक उपकरणको उपयोग र दूरी कायम गरेर जाँच गर्न नसकिएको बताइएको छ ।

सो अवसरमा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सु, प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला र इलाका प्रहरी काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले नाकामा कोरोना रोकथामका लागि भइरहेको जाँचमा सुरक्षित एप्रोन, माक्स र जनशक्तिको अभाव भएको जानकारी मन्त्री कार्कीलाई गराएका थिए ।

प्रकाशित : शुक्रबार, चैत ०७, २०७६०४:४८

सरकारले भारतका नाकामा थप कडाइ गर्ने !