क्वारेनटाइन तोडेपछि जोभिचलाई गिरफ्तार गर्ने चेतावनी

एजेन्सी – रियल म्याड्रिडका फरवार्ड लुका जोभिचले सर्बियामा क्वारेनटाइन तोडेपछि सरकारका प्रधानमन्त्री आना ब्रानाबीच र राष्ट्रपति एलेक्जेन्डर भुचिचले गिरफ्तार गर्नेसम्मको चेतावनी दिएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण युरोपेली फुटबल ठप्प भएपछि जोभिच आफ्नो देश सर्बिया फर्केका थिए । तर रियल म्याड्रिडले त्यसअघि नै आफ्ना सम्पूर्ण खेलाडी, अफिसियल तथा कर्मचारीलाई आ-आफ्नो बासस्थानमा क्वारेनटाइनमा बस्न आव्हान गरेको थियो । रियल म्याड्रिडको बास्केटबल टोलीका खेलाडीमा संक्रमण देखिएको र फुटबल टोलीले पनि एकै स्थानमा प्रशिक्षण गर्ने कारण विशेष सावधानी अपनाउन भनिएको थियो ।

यता जोभिचले सर्बिया फर्केर क्लबको आव्हान त तोडे नै । त्यसमाथि पनि सर्बियामा रहेको नियम तोड्दै सडकमा आफ्नो प्रेमिकाको जन्मदिन मनाइरहेको भेटिएका थिए । सर्बियाले विदेशबाट आउने हरेक व्यक्तिले कम्तिमा २ साता आइसोलेसनमा बस्नुपर्ने नियम बनाएको थियो । संक्रमण भएको ठाउँबाट आएर पनि सार्वजनिक रुपमा हुलमुलमा हिडेपछि जोभिचलाई सरकारले कारवाहीको चेतावनी दिएको छ ।

सर्बियाकी प्रधानमन्त्री ब्रानाबीचले अन्तर्राष्ट्रिय रुपमा प्रख्यात फुटबल खेलाडीबाट यो किसिमको व्यवहार निकै खराब रहेको बताइन् । ‘हामीले फुटबल स्टारबाट नै नराम्रो उदाहरण पाएका छौँ । लाखौं जनताको स्वास्थ्यमाथि खेलवाड गर्नुलाई गम्भीर रुपमा लिएका छौं । उनले स्वदेश फर्केपछि हरेक अन्य व्यक्तिझैं आइसोलेसनमा बस्न जरुरी छ,’ ब्रानाबिचले थपिन् ।

यता सर्बियाका राष्ट्रपति भुचिचले अब फेरी नियम तोडे जोभिचलाई गिरफ्तार गर्ने चेतावनी दिएका छन् । ‘ अब फेरी आफ्नो घर छोडेमा उनलाई गिरफ्तार गरिनेछ । उनले जे गरे, ठूलो गल्ति गरेको स्वीकारेका छन् । हामीले उनलाई उनको करोडौं पैसाभन्दा हाम्रा जनताको स्वास्थ्य महत्त्वपूर्ण रहेको बताएका छौँ,’ भुचिचले थपे ।

यता जोभिचले भने आफूलाई पूर्ण रुपमा कसैले नियमबारे जानकारी नदिएको भन्दै पन्छिन खोजे । ‘ म माफी माग्न चाहन्छु । तर मलाई कसैले पनि सर्बिया फर्केपछि आइसोलेसनमा के गर्नुपर्छ भन्ने जानकारी दिएको थिएन,’ जोभिचले भने ।

प्रकाशित : शुक्रबार, चैत ०७, २०७६१४:२२

फिफा वरियतामा नेपाल १७० औँ स्थानमा