भारतबाट एकैदिन भित्रिए ८५ ट्याङ्कर र ट्रक!

सिमाना बन्द गरेर लकडाउन गरिए पनि भारतबाट हुँदै आएको अत्यावश्यक वस्तुको आयात भने जारी रहेको छ । एकैदिन भारतबाट पेट्रोलियम पदार्थ, खाद्यान्न र तरकारी बोकेका ८५ वटा ट्रक र ट्याङ्कर नेपाल भित्रिएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले भारत र नेपाल दुवै ठाउँमा लकडाउन गरिए पनि मालवाहक गाडी नियमित आइरहेको बताए ।

उनले मङ्गलबार मात्र एकैदिन डिजेलका २३ वटा ट्याङ्कर, पेट्रोलका २० वटा ट्याङ्कर, एलपी ग्यासका सातवटा बुलेट, मट्टीतेलको एक ट्याङ्कर, तरकारी र फलफूल बोकेका २० वटा कन्टेनर तथा खाद्यान्न बोकेका ३० ट्रक भन्सार गराएर भित्रिएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रमुख निरौलाका अनुसार तीन दिन यता सिमानालाई पूर्ण रूपमा बन्द गरेर सवारीसाधन र मानिसहरूको ओहोरदोहोरमा प्रतिबन्ध लगाइए पनि पेट्रोलियम पदार्थ र खाद्यान्नको आयातमा कुनै कमी आएको छैन । यसअघि आइतबार र सोमबार मात्र यो नाकाबाट ८८१ मेट्रिक टन चामल, २४५ मेट्रिक टन मकै र ८१४ मेट्रिक टन सिमी भारतबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित : बिहिबार, चैत १३, २०७६०२:०५

लकडाउनले ऐतिहासिक रुपमा यस्तो बन्यो काठमाडौँ, ह्वात्तै घट्यो वायु प्रदूषण!